मनोज यादव—
सर्लाही,असाढ ११
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा न-७ नोकैल्वामा एक नवविवाहित किशोरीको सोमबार दिउँसो झुण्डिएर मृत्यु भएको छ।
नोकैल्वा निवासी लिलाधर रायको छोरा १७ वर्षिय सुनिल यादवकी श्रीमती वर्ष १७ की बबिता यादवको आफ्नै घरको सुत्ने कोठामा घाँटीमा पासो लगाएर झुण्डिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मृतक बबिता र सुनिलको सात महिना अगाडी मात्र घरबाट भागेर प्रेम विवाह भएको मृतककी आमा रीता यादवले बताएकी छिन् ।
उनीहरु दुबै जनाको घर एउटै गाउँमा रहेकोले एकअर्का बिच प्रेम सम्बन्ध गाँसिएपछि केटीकी आमाले विवाह गर्न नमानेपछि दुवैजना भागेर विवाह गरेका थिए।
भागेर विवाह गरिसके पछि श्रीमानको घरमा बस्दै आएकी बबिताको अचानक झुण्डिर मृत्यु भएपछि घटनालाई शंकाको रुपमा हेरिरहेको छ।
विवाह भएको केही दिनपछि नै केटा(ज्वाइँ) पक्षले दाइजोको लागि छोरीलाई दवाब दिंदै आएको र घरेलु हिंसा समेत गर्दै आएकोले छोरीले आत्महत्या नगरेको बल्की हत्या गरेर झुण्ड्याएको आमा रीताको आरोप छ।
आमा रीता आज(मंगलबार)दिउँसो सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरि राखेको बबिताको शव लिएर केटा पक्ष विरुद्ध हत्याको जाहेरी दर्ता गराउन माग गर्दै स्थानीयबासीहरुको साथमा केही बेर जिल्ला प्रहरी कार्यालय अगाडी घर्ना समेत दिएका थिए।
घटना स्थलको प्रकृतिलाई हेर्दा केटीको झुण्डिएररै मृत्यु भएको देखिएकोले थप तथ्यहरु पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने भएकोले अहिले यस विषयमा केही प्रतिक्रिया दिन नमिल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी दिपक श्रेष्ठले बताए ।

