मनोज यादव—
सर्लाही,जेठ २४
नेपाल सरकारले पेन्सन र सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।
सरकारको यस्तो निर्णयबाट सरकारी सेवा प्रणाली चुस्त बन्ने भएपनि सामाजिक सुरक्षा भत्ता लिने लक्षित उमेर समूहका लाभग्राहीहरुमा भने समस्या उत्पन्न भएको छ।
सामाजिक सुरक्षा भत्ता लिनको लागि वृद्धवृद्धा तथा जेष्ठ नागरिकहरु नयाँ आवेदन दिन तथा पहिलैदेखि लिंदै आएको सुविधालाई नविकरण गराउन वडा कार्यालयमा जाँदा राष्ट्रिय परिचयपत्र बनाएर ल्याएपछि मात्र सो सुविधा प्राप्त गर्न सकिने जवाफ पाएर उनीहरूलाई फर्किनु परेको छ।
नागरिकता बनाउन बढीमा २ देखि ४ दिन समय लाग्छ तर राष्ट्रिय परिचयपत्रको हकमा आवेदन फारम भरेर फोटोसहित सम्पुर्ण विवरण दिइसकेपछि राष्ट्रिय परिचयपत्र बनेर आउन २ देखि ३ वर्षको समय लाग्छ।
सो अवधीमा ७०-८० वर्ष कटिसकेका जेष्ठ नागरिकको मृत्यु भइसक्छ।
कतिपय त आफ्नो नाममा आएको भत्ता लिन बैंकसम्म जाने अवस्थाको समेत रहँदैनन् ,बलरा नगरपालिका वडा न-२ का एक स्थानीय शिक्षक हरेन्द्र कुमार यादव बताउँछन् ।
सरकारी कामकाजको लागि यस्तो निर्णय ठिक भएपनि वृद्धवृद्धा तथा जेष्ठ नागरिकहरुको लागि भने ठिक नभएको शिक्षक यादवको भनाई रहेको छ।
राष्ट्रिय परिचयपत्रको लागि दर्ता गराएको आवेदनकै आधारमा सामाजिक सुरक्षा भत्ता लिन पाउनुपर्ने जेष्ठ नागरिकहरुको माग रहेको छ।
७० वर्ष उमेर कटिसके पछि थप कति वर्षसम्म बाँच्ने हो ठेगान हुँदैन ।
सरकारको यस्तो निर्णयले गर्दा नागरिकताको आधारमा पहिलादेखि खाँदै आएको भत्ता राष्ट्रिय परिचयपत्र नभएकै कारण गुमाउनुपर्दा एक किसिमले बुढेसकालको सहारा गुमेको भन्दै जेष्ठ नागरिकहरुले दुखेसो पोखेका छन् ।
अबदेखि सामाजिक सुरक्षा भत्ताको नयाँ दर्ता र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएकोले त्यसका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने छ ।
यसअघि राहदानी बनाउन र नवीकरणका लागि मात्र आवश्यक्ता पर्दै आएकोमा सरकारले सामाजिक सुरक्षा भत्ता लगायत अन्य सरकारी कामकाजको लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि पछिल्लो समय सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा दिनहुँजसो सयौं सेवाग्राहीहरुको भिड लाग्ने गरेको छ।
नागरिकता बनाइसके पछि तत्कालै उनीहरु राष्ट्रिय परिचयपत्रको लागि पनि आवेदन दिने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा अहिले दैनिक ७० देखि ८० जनासम्म मानिसहरु राष्ट्रिय परिचयपत्रको लागि आवेदन दिन आउने गरेका छन् ।जसमध्ये १० देखि १५ जना वृद्धवृद्धा तथा जेष्ठ नागरिक हुने गरेको कार्यालयले जनाएको छ ।

