मनोज यादव—
सर्लाही ,जेठ १४
सर्लाहीमा सरकारी गाडीको खुलेआम दुरुपयोग भइरहेको पाइएको छ।
जिल्लाको २० वटै स्थानीय तहका प्रमुख देखि कर्मचारीहरुलाई कार्यालय प्रयोजनका लागि उपलब्ध गराइएका सरकारी नम्बर प्लेटका गाडीहरु अधिकांश समय घरायसी काममा प्रयोग हुने गरेको पाइएको छ ।
सबैभन्दा बढी वडाअध्यक्षहरुले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइएको छ।
जनताको समस्या समाधानको लागी उनीहरूको घर दैलोमा पुग्न र विकास निर्माणको काममा सहज भएर लाग्नका लागि पालिकाले आफ्नो जनप्रतिनिधि तथा कर्मचारीहरुलाई ठुलो धनराशी खर्च गरेर खरिद गरिदिएको सरकारी सवारीसाधनहरु कार्यालय र जनताको कामको साटो अधिकांश समय ब्यक्तिगत घरायसी काममा मात्र प्रयोग हुने गरेको पाइएको छ।
सुरुका दिनमा स्थानीय तहले प्राथमिकताका साथ गाडी तथा मोटरसाइकल खरिद गर्न थालेपछि त्यसको व्यापक आलोचना समेत भएको थियो ।
लाखौं रुपैया खर्च गरेर खरिद गरेको सुबिधा सम्पन्न गाडी तथा त्यसमा प्रयोग हुने इन्धन ,मोविल तथा मर्मत खर्च स्थानीय तहले व्होर्दै आएको छ ।
विकास निर्माणको लागी भनी आएको बजेट सवारी साधनको रखरखावमा खर्च भएको भन्दै सो बेला त्यसको व्यापक बिरोध समेत भएको थियो ।
स्थानीय तहले एकातिर सवारी साधनको रखरखावमा वर्षेनी लाखौं लाख रकम खर्च गर्दै आएको छ भने अर्कोतर्फ ती सरकारी गाडीहरुको निजी प्रयोग पनि बढदाे छ ।
यहाँका शहर,बजार तथा गाउँघरमा सार्वजनिक बिदाको दिन र कार्यालय समय बाहेक पनि सरकारी नम्बर प्लेटका गाडीहरु निर्धक्कका साथ गुडिरहेको देख्न सकिन्छ ।
सर्लाही जिल्लामा मात्र नभइ मधेस प्रदेश भरिकै अधिकांश स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले सरकारी सुविधाको रूपमा पाएको मोटर साइकल तथा स्कुटी घरको कामदेखी ,खेतवारीको काममा प्रयोग गर्ने गरेका छन्।
यहाँ पालिका प्रमुखदेखि वडाअध्यक्ष लगायत अन्य कर्मचारीका आफन्त तथा घरका व्यक्तिहरु सरकारी गाडीको प्रयोग बजार घुम्न, सिमापारी भारतीय बजारमा किनमेल गर्न र जन्ती जानका लागि प्रयोग गर्ने गरेको मानवअधिकार रक्षक संजाल सर्लाहीका संयोजक मुकेश मिश्रले बताए।
गाडीमा प्रयोग हुने इन्धन लगायतका सुविधा स्थानीय तहबाट बेहोर्ने लगाउने तर काम भने घरको गर्ने गरेको भन्दै स्थानीयहरु द्वारा यसको पटकपटक विरोध हुँदै आएपनि यसमा कुनै सुधार नआएको उनी बताउँछन् ।
निजी तथा सार्वजनिक मात्र नभइ सरकारी गाडीहरु उपर पनि निगरानी बढाएर सरकारी सम्पत्तिको दुरुपयोग गर्नेहरुलाई तत्कालै कार्यवाहीको दायरामा ल्याउनु पर्ने स्थानीय बुद्धिजीवीहरुको भनाई छ।
सरकारी काममा प्रयोग गर्न सरकारी गाडी खरिद गरिएकोले ब्यक्तिगत प्रयोजन एवं सार्वजनिक विदाका दिन यसको प्रयोग गर्न नपाउने नियम रहेकोले यदी कुनै कारणले आफ्नो कार्य क्षेत्रभन्दा बाहिर, सार्वजनिक विदा बाहेकका दिनमा प्रयोग गर्न परेमा अधिकार प्राप्त अधिकारीसँग अनुमति लिनुपर्ने कानुनी ब्यवस्था रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताए ।
उनले यो नियम तीनै तहका सरकार, जनप्रतिनिधि र कर्मचारीको हकमा अनिवार्य लागू हुने भएकोले कसैले यो कानुनको उल्लंघन गरेको खण्डमा नेपालको प्रचलित कानुन अनुसार कारबाही हुने व्यवस्था रहेको बताए ।
जुनसुकै ओहोदाका जनप्रतिनिधि अथवा कर्मचारी किन नहोस् ? नियम विपरीत सरकारी गाडी चलाएको फेला परेको खण्डमा प्रहरी मार्फत ठाउँको ठाउँ गाडी जफत गरि कार्यवाही गर्नसके सरकारी गाडीको दुरुपयोग गर्ने आँट कसैमा आउने थिएन ।

