Loktantra Khabar National Weekly
Ad

लिफ्ट दिएका व्यक्तिको बसको ठक्करबाट मृत्यु भएपछि स्कुटर चालकविरुद्ध मुद्दा

लोकतन्त्र खबर
१८ चैत्र २०८०

काठमाडौं  चैत १८, लिफ्ट दिएका व्यक्तिको बसको ठक्करबाट मृत्यु भएपछि स्कुटर चालक प्रहरी जवानविरुद्ध सवारी ज्यानको मुद्दा चलाइएको छ ।

प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान तथा स्कुटर चालक सन्तोषराज पाध्याय र ठक्कर दिने बसका चालक मुन्नाकुमार शुक्लाविरुद्ध सवारी ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सन्तोषले नागार्जुन नगरपालिका–५ का २४ वर्षीय चरण श्रेष्ठलाई २० फागुन बिहान साढे ६ बजेतिर स्कुटरमा लिफ्ट दिएका थिए । धुम्बाराही पुगेपछि स्कुटर पल्टेको र दुवै जना लडेका बेला चरणलाई बसले ठक्कर दिंदा उनको मत्यु भएको प्रहरी जवानको बयान छ ।

‘धुम्बाराहीमा आइपुगेपछि स्कुटर पल्टेकाले दुवै जना सडकमा लगेका थियौं । सोही बेला ना ८ ख ७१९५ नम्बरको बसको चक्काले चरणलाई किचेको थियो’ प्रहरी जवान सन्तोषले बयानमा भनेका छन् ।

बसले ठक्कर दिएपछि अस्पताल लैजानु पर्नेमा सन्तोष आफू घरतिर गएर गैरजिम्मेवार बनेको भन्दै उनीविरुद्ध सवारी ज्यानको मुद्दा प्रहरी वृत्त महाराजगञ्जले चलाएको छ ।

बसका चालक मुन्नाकुमार र सन्तोषलाई विपक्षी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका चरणलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिए पनि डाक्टरले मृत घोषित गरेका थिए ।

मुद्दा दायर भएका दुवै जनाविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा (३) बमोजिमको कसूर गरेको भन्दै सोही अनुसारको सजाय मागदाबी गरिएको थियो।

दफा १६१ को उपदफा (३) को कसूर गर्नेलाई १ वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यसका साथै पीडित पक्षलाई क्षतिपूर्ति भराउन समेत मागदाबी गरिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: