Loktantra Khabar National Weekly
Ad

३८४ रोपनी सरकारी जग्गा निजीकरण गरेको भन्दै माओवादी नेता गगन पुरीसहित १८७ विरूद्ध भ्रष्टाचारको मुद्दा

लोकतन्त्र खबर
१४ फाल्गुन २०८०

झापा दमक नगरपालिका वडा नम्बर १३ र १४ स्थित बालुवाटारको ३८४ रोपनी सार्वजनिक जग्गा निजीकरण गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्‍तियारले आइतबार झापाको चन्द्रगढीस्थित नापी कार्यालयका ९ कर्मचारीसहित १८७ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

नापी कार्यालय चन्द्रगढीका ९ जना, सरकारी सार्वजनिक जग्गा पहिलो चरणमा आफ्नो नाममा दर्ता ल्याउने ६५ जना र ११३ जग्गाधनीविरूद्ध मुद्दा दायर भएको हो।

उनीहरूले गैरकानुनी तरिकाले सरकारी/सार्वजनिक जग्गा स्‍वबासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा ल्याएको अख्तियारको आरोप छ।

नापीका तत्कालीन प्रमुख नापी अधिकृत स्व. शशीकान्त झा र श्रीमती अनारदेवी झा, रामदेव मण्डल धानुक, नासु रुद्रप्रसाद श्रेष्ठ, सर्भेक्षकहरू सिताराम यादव, विन्देश्वर पंजियार सुडी, रामकुमार दाय, गणेशकुमार धिमाल, विष्णुदेव यादव र अमिन ललितकुमार मण्डलविरूद्ध मुद्दा दायर भएको हो।

उनीहरूमध्ये तत्कालीन नापी अधिकृत स्वं. शशीकान्त झाविरूद्ध ४१ करोड ६२ लाख १९ हजार ८०१ रुपैयाँ बिगो मागेको छ। उनको मृत्यु भइसकेको हुँदा उनकी श्रीमतीविरूद्ध पनि सोही बिगो कायम गरेको छ।

उनीहरूलाई अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार तीन महिनादेखि तीन वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना गरी उक्त बिगो समेत असुल गर्न मागदाबी गरेको छ।

त्यस्तै, सुरूका जग्गा दर्तावालाहरूमा नेकपा माओवादीका नेता गगन भनिने रेवतराज पुरीविरूद्ध पनि मुद्दा दायर भएको छ। उनीविरूद्ध तीन करोड ३५ लाख ७६ हजार ८८० रुपैयाँ बिगो मागदाबी गरिएको छ।

गिरीकै श्रीमती केशावतीविरूद्ध ५ करोड ६२ लाख ५० हजार ८४० रुपैयाँ बिगो माग गरेको छ। सुरूका जग्गा दर्तावालाको नाममा ६५ जनाविरूद्ध मुद्दा दायर गरेको छ। त्यसबाहेक अख्तियारले ११३ जनाविरूद्ध जग्गा जफतका लागि मुद्दा दायर गरेको हो।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: