बुटवलको कालिकानगरस्थित ६ लेन सडकमा रहेको आकाशेपुलमा राखिएको प्रचार सामग्री डिभिजन सडक कार्यालय बुटवलले हटाइदिएको छ।
राजमार्गका मेडियन र किनार कब्जा गरेर विज्ञापन सामग्री राख्दै आएको एपेक्स नेपाल प्रालिले गत विहिबार आकाशे पुलमा आफ्नो प्रचार सामग्री राखेको थियो।
कालिकानगरस्थित कालिका मानवज्ञान मावि अगाडि रहेको आकाशे पुलमा डिभिजन सडक कार्यालयले सडक लेनको सुरक्षित प्रयोग सम्बन्धि सन्देशमूलक चिन्ह राखेको थियो।
आकाशेपुलमा राखिएका सन्देशमुलक चिन्ह हटाएर उक्त कम्पनीले आफ्नो प्रचार सामग्री राखेपछि डिभिजन सडक कार्यालयले पनि प्रचार सामग्री हटाइदिएको हो।
उक्त कम्पनीले डिभिजन सडक कार्यालयको सहमति बीना सन्देशमुलक सन्देश हटाएर प्रचार सामग्री राखेको भन्दै सेतोपाटीमा समाचार प्रकाशित भएको थियो।
डिभिजन सडक कार्यालय बुटवलका ईञ्जिनियर महेश्वर लम्सालले सडक क्षेत्राधिकार भित्र सडक प्रयोगकर्ता यात्रु तथा सर्वसाधारणलाई सन्देश दिने खालका सूचना तथा सन्देश राख्नुपर्नेमा राखिएका सन्देशमुलक चिन्ह समेत हटाएर प्रचार सामग्री राखेपछि कार्यालयले उक्त प्रचार सामग्री हटाइदिएको बताए।
उक्त कम्पनीले यसअघि पनि बेलहिया बुटवल सडक खण्डमा रहेका अन्य आकाशे पुलहरुमा समेत बीनास्वीकृत यात्रुहरुका लागि राखिएका सन्देशमूलक सामग्री छोपेर प्रचार सामग्री राखेपछि गत जेठमा डिभिजन सडक कार्यालयले हटाइदिएको थियो।
२०७४ सालमा बुटवल उपमहानगरपालिकासँग सडकको मेडियनमा सौर्य ऊर्जा (सोलार) बाट सडक बत्ती बाल्ने र बत्ति जडान गरिने पोलहरुमा प्रचार सामग्री राख्नेगरी सम्झौता गरेको थियो।
सुरुमा सौर्य ऊर्जा (सोलार) बाट सडक बत्ती बाल्ने सहमति गरेपनि अहिले सम्झौता परिमार्जन गरेर विद्युत लाइनबाट बालिएका छन्।
बुटवल उपमहानगरपालिकाका अनुसार सम्झौतामा उक्त कम्पनीले राजमार्ग चौराहदेखि लक्ष्मीनगरसम्मको सडकको मेडियन र आकाशे पुल समेतमा बत्ति जडान गर्ने, विभिन्न स्थानमा यात्रु प्रतिक्षालय निर्माण गर्ने र आकाशे पुलमुनि स्मार्ट सार्वजनिक शौचालय निर्माण गरि त्यसको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ।
सडक बत्ति, यात्रु प्रतिक्षालय र स्मार्ट सार्वजनिक शौचालय निर्माण गरेपछि उक्त कम्पनीले सडक बत्तिका पोल र यात्रु प्रतिक्षालयमा प्रचार सामाग्री राख्न पाउने सम्झौतामा उल्लेख छ।
सम्झौतामा आकाशे पुलमुनि स्मार्ट शौचालय बनाउने र त्यसको व्यवस्थापन गर्ने उल्लेख भए पनि आकाशे पुलमा विज्ञापन राख्न नपाएको भन्दै शौचालय बनाउन एपेक्सले आनाकानी गरिरहेको छ।
तर, सम्झौता अनुरुप यात्रु प्रतिक्षालय र स्मार्ट शौचालय निर्माण गर्न बेवास्ता गर्दै आएको उक्त कम्पनीले सम्झौतामा नरहेको आकाशे पुलमा समेत विज्ञापन सामग्री राखेर मनपरी गर्दै आएको छ। सेतोपाटी

