मनोज यादव–
सर्लाही, चैत २९ । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णय विरुद्ध सर्लाहीमा सर्वदलीय दलहरूले कडा विरोध जनाएका छन् ।
आईतवार जिल्लामा सम्पन्न सर्वदलीय बैठकले नेपाल सरकारको उक्त निर्णय प्रति गम्भीर आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न माग गरेको हो । बैठकले नेपाल–भारतबीच सदियौँ देखि कायम रहेको बेटी–रोटीको सम्बन्धमा यस निर्णयले प्रतिकूल असर पार्ने निष्कर्ष निकालेको छ ।
सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवन, सामाजिक तथा आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पर्ने भन्दै निर्णय सच्याउनु पर्नेमा बैठकले विज्ञप्ती मार्फत जोड दिइएको छ ।
सर्वदलीय प्रेस विज्ञप्तिमा विगत देखि सर्लाहीका स्थानीयले भारतीय नम्बर प्लेटका सवारी साधन ३० किलोमिटर क्षेत्रभित्र सहज रूपमा आवत जावत गर्दै आएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षाको नाममा नियोजित रूपमा यस्तो सेवा बन्द गर्न खोजेको आरोप लगाइएको छ ।
साथै, बिना भन्सार सवारी सञ्चालनमा रोक लगाउने मानसिकता प्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ । प्रेस विज्ञप्ति मार्फत जिल्ला प्रशासन कार्यालयलाई भारतीय नम्बर प्लेटका सवारी साधनलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न आग्रह गरिएको छ ।
माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दलहरूले दिएका छन् ।
आईतवार बसेको सर्वदलीय बैठकमा नेकपा (एमाले) का जिल्ला अध्यक्ष राजनारायण साह, नेकपाका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राप्रपा नेपालका जिल्ला अध्यक्ष सत्यनारायण यादव, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष गणेश कुमार यादव, जसपाका जिल्ला अध्यक्ष शम्भु यादव तथा उज्यालो नेपालका जिल्ला उपाध्यक्ष राम स्वार्थ महतोले सामुहिक निर्णयमा हस्ताक्षर गर्दै विज्ञप्ती जारी गरेका छन ।

