बागमती, २३ फागुन – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको विषयलाई लिएर मृतकको परिवार र स्थानीयले चक्काजाम गरेका छन् । फागुन १६ गते राति बागमती नगरपालिका १२ गुन्जन अटो वर्कशप अगाडि प्रदेश–१–०२–००२ ख १०४२ नम्वरको ट्रक र प्रदेश ०३–००१ ह २०६७ नम्वरको अटो ठोक्किँदा बागमती नगरपालिका ४ सुकदेव चोक घर भएका अटो चालक ५० वर्षीय रामशरण कुश्ववारको मृत्यु भएको थियो । उनको फागुन २० गते उपचारका क्रममा एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही घटनालाई लिएर मृतकको परिवारलाई उचित राहत रकमको माग गर्दै आफन्त र स्थानीय भएर राजमार्गमा चक्काजाम गरेका हुन् । आन्दोलित पक्षको माग सम्वोधन गर्न प्रहरीले समन्वय गर्ने प्रतिवद्धता जनाएपछि चक्काजाम खुलेको हो । प्रहरीका अनुसार मृतकको चार दिनसम्म उपचारका लागि गाडीधनीले नै खर्च बेहोरेका बुझिएको छ । सर्लाही प्रहरीका डिएसपी सरोज राईले दुर्घटनामा संलग्न ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको बताए । सौजन्य उज्यालो अभियान

