वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बारा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले प्रारम्भिक मतगणनामा स्पष्ट तथा फराकिलो अग्रता कायम गरेका छन् । मतगणना जारी रहँदा रास्वपाका उम्मेदवारहरूले नेपाली काँग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालजस्ता मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारहरूलाई उल्लेख्य मतान्तरले पछि पारेको देखिएको छ ।
क्षेत्र नं. १ मा रास्वपाका गणेश धिमालले हालसम्म ७,८२३ मत प्राप्त गर्दै ठुलो अग्रता बनाएका छन् भने नेपाली काँग्रेसका शम्भु बहादुर बुढाथोकीले २,४४३ मत र नेकपा (एमाले) का अच्युत मैनालीले १,६७३ मत मात्रै पाएका छन् । क्षेत्र नं. २ मा रास्वपाका चन्दन कुमार सिंह ७३२ मतसहित अगाडि छन् । सिंहलाई नेकपा (एमाले) का बलवीर चौधरीले ५९० मत र जसपा नेपालका रामकिशोर यादवले ४२५ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
क्षेत्र नं. ३ मा रास्वपाका अरविन्द साहले ११,६४० मतसहित सबैभन्दा बढी फराकिलो अग्रता कायम गरेका छन् । यस क्षेत्रमा जसपा नेपालका रामबाबु कुमार यादवले १,०१८ मत र नेपाली काँग्रेसका फरमुल्लाह मन्सुरले २,५९८ मत प्राप्त गरेका छन् । त्यसैगरी क्षेत्र नं. ४ मा रास्वपाका रहबर अन्सारीले ४,८७३ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने नेपाली काँग्रेसका श्यामबाबु गुप्ताले ७९० मत र नेकपा (एमाले) का किसान श्रेष्ठले ७४१ मत मात्रै पाएका छन् । बारा जिल्लामा विभिन्न राजनीतिक दलका ६३ जना तथा स्वतन्त्र ४७ जना गरी कुल ११० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जिल्लाभर करिब ७० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अहिले चार वटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ र परिणाम क्रमशः सार्वजनिक भइरहेको छ । प्रारम्भिक नतिजाले बारामा रास्वपाको बलियो प्रभाव र लोकप्रियता देखाएको छ । रास्वपालाई देशव्यापी मतगणनासँग पनि जोडेर हेरिएको छ । सौजन्य यात्रा डेली

