मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिउडको चर्चित र प्रतिष्ठित सिरिज द ह्वाइट लोटसको चौथो सिजनमा काम गर्ने ठूलो मौका गुमाएकी छन्। सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरूका अनुसार दीपिकाले यो सिरिजका लागि अडिसन दिन अस्वीकार गरेपछि निर्माण पक्षसँगको कुरा अगाडि बढ्न नसकेको हो ।
स्रोतका अनुसार ’द ह्वाइट लोटस’का निर्माताहरूले यस एन्थोलोजी ड्रामा सिरिजका लागि दीपिकालाई अफर गर्न चाहेका थिए। तर हलिउडको कास्टिङ प्रक्रिया अनुसार हरेक कलाकारले अडिसन दिनु अनिवार्य हुन्छ। भेराइटी इन्डियाको रिपोर्टका अनुसार शोका निर्माता माइक ह्वाइटले सिरिजका लागि छानिने हरेक कलाकारको अडिसन लिन चाहेका थिए, तर दीपिका यो प्रक्रियाका लागि तयार भइनन्। उनले अडिसन दिन नमानेकै कारण यो अन्तर्राष्ट्रिय अवसर उनको हातबाट फुत्किएको हो ।
दीपिकालाई यो शोका लागि प्रस्ताव गरिएको यो पहिलो पटक भने होइन। यसअघि तेस्रो सिजनका लागि पनि निर्माताहरूले उनीसँग सम्पर्क गरेका थिए, तर त्यतिबेला उनी गर्भवती भएका कारण भूमिका स्वीकार गर्न सकेकी थिइनन्। अहिले चौथो सिजनको तयारी भइरहँदा मेकरहरूले फेरि उनलाई सम्झिएका थिए, तर अडिसनको सर्तले गर्दा कुराकानी टुंगिन पुग्यो। सन् २०१७ मा रिलिज भएको ट्रिपल एक्सः रिटर्न अफ जेन्डर केजपछि दीपिकाले हलिउडमा ठूलो काम नगरेकाले यो सिरिज उनका लागि महत्त्वपूर्ण मानिएको थियो ।
द ह्वाइट लोटस एक अत्यन्त लोकप्रिय र समीक्षकहरूले रुचाएको अमेरिकी ब्ल्याक–कमेडी ड्रामा सिरिज हो। एमी अवाड्र्स विजेता यो शो हरेक सिजनमा नयाँ स्थान र नयाँ कलाकारहरूका साथ फरक कथाका लागि चिनिन्छ। हलिउडको यो अवसर गुमाए पनि दीपिका अहिले बलिउडका ठूला प्रोजेक्टहरूमा व्यस्त छिन्। उनी छिट्टै शाहरुख खानसँग फिल्म किङमा देखिनेछिन् भने अल्लू अर्जुनसँगको एक ठूलो प्रोजेक्टमा पनि उनको सहभागिता रहेको छ, जसलाई दर्शकहरूले निकै उत्सुकताका साथ पर्खिरहेका छन् । सौजन्य यात्रा डेली

