Loktantra Khabar National Weekly
Ad

बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने गाडीसहित एक पक्राउ

लोकतन्त्र खबर
१७ फाल्गुन २०८२

बीबीसीद्वारा तयार पारिएको ‘जेनजी आन्दोलन’ सम्बन्धी डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा जिल्लाका अनुसार भारतीय नम्बर प्लेटको सवारीसाधन प्रयोग गरी सार्वजनिक स्थानमा उक्त सामग्री प्रसारण भइरहेको अवस्थामा कारबाही गरिएको हो । प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार बी.आर ०१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर जडान गरी जनकपुरधामस्थित रेल्वे स्टेशन अगाडि डकुमेन्ट्री देखाइँदै थियो । सोही क्रममा गाडीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विकास जयसवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गरी संवेदनशील विषयवस्तु सार्वजनिक रूपमा प्रदर्शन गर्नु नियमविपरीत हुन सक्ने देखिएकाले नियन्त्रणमा लिइएको हो । साथै, यस्तै प्रकृतिका थप दुईवटा गाडी प्रयोगमा रहेको सूचना प्राप्त भए पनि ती सवारीसाधन हाल फेला नपरेको प्रहरीले जनाएको छ । डीएसपी बमले चुनाव नजिकिँदै गरेको अवस्थामा यस्ता गतिविधिले मतदातामा नकारात्मक असर पार्न सक्ने तथा सामाजिक सद्भावमा प्रभाव पर्न सक्ने गुनासो आएपछि प्रहरी टोलीले खोजी तीव्र पारेको र स्टेशन क्षेत्रमा गाडी फेला पारेको जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: