Loktantra Khabar National Weekly
Ad

सब–इन्जिनियर हत्याका कसूरदार पक्रने प्रहरी पुरस्कृत

लोकतन्त्र खबर
१७ फाल्गुन २०८२

मलंगवा, १७ फागुन – पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्यामा संलग्न कसूरदार पक्राउ गर्न सक्रिय भएर लागेका प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । सब–इन्जिनियर यादवको हत्यापछि भागेका कसूरदारलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल प्रहरी कर्मचारीलाई शनिबार पुरस्कृत गरिएको हो । पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट आएका प्रहरी निरीक्षक वीरेन्द्र बिसी, प्रहरी नायब निरीक्षक सुजन पुडासैनी र प्रहरी जवान अजय सहनी रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटनाको सफल अनुसन्धान गर्ने प्रहरी कर्मचारीको मनोबल बढाउने उद्देश्यले नगदसहित पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए । प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्का र डिएसपी राईले पुरस्कृत गरेका हुन् । सिरहाको सुखीपुर नगरपालिका–९, बैशाखा घर भएका सब–इन्जिनियर यादवको फागुन ३ गते साँझ सदरमुकाम मलङ्गवा नगरपालिका–१०, स्थित देबी टोलमा डेरा गरेर बसेको घरभित्र गोली प्रहार गरी हत्या भएको थियो । प्रहरीले हत्याका मुख्य योजनाकार महोत्तरीको रामगोपालपुर नगरपालिका–५, घर भइ सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत प्राविधिक सहायक ३४ वर्षीय गणेशकुमार महतोसहित उनको सालो बसबरिया गाउँपालिका–२, मानपुरका २२ वर्षीय चन्द्रकिशोर सिंह कुशवाहा र मुख्य योजनाकार गणेशकुमारको भाइ २२ वर्षीय बिजयकुमार महतोलाई पक्राउ गरेको छ ।

मुख्य योजनाकार गणेशकुमारले सब–इन्जिनियर यादवलाई जागिरको लोभमा परेर गोली प्रहार गरी हत्या गरेको खुलेको छ । एक वर्षअघि सब–इन्जिनियर यादव लोक सेवा आयोगको परीक्षामा उर्तीण हुँदा हत्याका मुख्य योजनाकार गणेशकुमार बैकल्पिक उम्मेदवारको सूचीमा परेका थिए । सब–इन्जिनियर यादवलाई एक वर्षभित्र मृत्यु भए नियम अनुसार वैकिल्पक उम्मेदवारले जागिर पाउने लोभमा गणेशकुमारले सालो र भाईसँग मिलेर यादवको हत्या गरेको खुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सौजन्य उज्यालो अभियान

 

प्रतिक्रिया दिनुहोस्: