इस्लामिक सहयोग संगठनको कार्यकारी समितिको विदेशमन्त्री स्तरीय आपतकालिन बैठकले इजरायलको वस्ती विस्तारलाई अस्वीकार गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा संगठनले कब्जा गरिएका प्यालेस्टाइन क्षेत्रहरूमा इजरायलले बस्ती विस्तार गर्ने उपायको कडा निन्दा गरेको छ। बैठकले इजरायलमा अमेरिकी राजदूत माइक हकाबीको टिप्पणीको पनि निन्दा गरेको छ र अमेरिकी दूतावासले कब्जा गरिएको वेस्ट बैंकका इजरायली बासिन्दालाई कन्सुलर सेवा प्रदान गर्ने निर्णयको आलोचना गरेको छ। यस्ता कदमहरूले प्यालेस्टाइन र अरब भूमिमा इजरायलको नियन्त्रणलाई प्रोत्साहन दिने उनीहरुको ठहर छ।
सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको योजनाको कार्यान्वयनलाई अघि बढाउन, दोस्रो चरणमा प्रवेश गर्न, गाजा पट्टीमा पूर्ण र दिगो युद्धविराम सुनिश्चित गर्न, इजरायली सेनाको पूर्ण फिर्ता, र मानवीय सहायता निर्बाध रूपमा उपलब्ध गराउन आह्वान गरेका छन्।
बैठकले प्यालेस्टाइन राज्यलाई पुनर्निर्माण र पुनस्र्थापनाको प्रयासमा समर्थन व्यक्त गरेको छ भने गाजा पट्टी र वेस्ट बैंकसहित प्यालेस्टाइन क्षेत्रको एकताको पुनः पुष्टि गरेको छ। संगठनले इजरायली नीतिहरूविरुद्ध राजनीतिक तथा कानुनी उपायहरू अपनाउनेसमेत निर्णय गरेको छ। अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टाइन जनतालाई संरक्षण प्रदान गर्न आह्वान गर्दै इजरायललाई कथित उल्लंघनका लागि जवाफदेही बनाउने प्रयासलाई समर्थन गरेको छ। बैठकले मध्यपूर्वमा बढ्दो तनाव र आक्रामक बयानबाजीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ, जसमा इरानविरुद्ध बल प्रयोग गर्ने धम्की र आक्रामक सैन्य शक्ति बढाउने रिपोर्टहरू समावेश छन्। यसले सैन्य तनाव बढ्दा क्षेत्रीय तथा विश्व शान्ति र सुरक्षामा गम्भीर तथा अप्रत्याशित प्रभाव पर्नसक्ने र आर्थिक स्थिरता, ऊर्जा सुरक्षा र उदीयमान अर्थतन्त्रको विकास सम्भावनामा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ । सौजन्य यात्रा डेली

