Loktantra Khabar National Weekly
Ad

चुनावमा जाली नोटको उच्च जोखिम

लोकतन्त्र खबर
१६ फाल्गुन २०८२

प्रतिनिधि सभाको आसन्न निर्वाचनका बेला नक्कली (जाली) नोटको कारोबार बढ्न सक्ने भनेर सरोकारवाला निकाय सचेत भएको छ । खास गरी भारतसँग सीमा जोडिएका तराई मधेशका क्षेत्रमा त्यस्तो जोखिम उच्च रहने गर्छ । सोही सम्भावनालाई ख्यालमा राख्दै जाली नोटको कारोबार न्यूनीकरण गर्न नेपाल राष्ट्र बैङ्क जनकपुरधामले जलेश्वरमा सचेतना कार्यक्रम गरेको छ । नेपाल राष्ट्र बैङ्क जनकपुरका निर्देशक डिलाराम सुवेदीले निर्वाचनमा जाली नोटको प्रयोग हुन सक्ने जोखिमलाई लक्षित गर्दै जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताउँदै यस्तो कार्यक्रम देशव्यापी गरिने जानकारी दिए ।

निर्वाचनका समयमा नगद कारोबार उल्लेख्य रूपमा बढ्ने भएकाले सर्वसाधारण, व्यापारी तथा वित्तीय संस्थाहरूलाई जाली नोटबाट जोगाउन विशेष अभियान सञ्चालन गरिएको निर्देशक सुवेदीले बताए । नेपाल राष्ट्र बैङ्क जनकपुरधामले विद्यार्थी, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी व्यापारी, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिलगायत स्थानीयको सहभगितामा जाली नोट पहिचान गर्ने, जाली नोट फेला परिहाले भने के गर्ने तथा जाली नोटको कारोबार गर्नेलाई कानुनी दण्ड सजायबारे सचेतना गराएका थिए ।

बैङ्कका निर्देशक सुवेदीले रकमको कारोबार गर्नेले जाली नोटबारे जानकारी राख्ने हो भने प्रवेशद्वारमै नक्कली नोट रोक्न सकिने र यसले अनुसन्धान तथा नक्कली नोटको दुरुत्साहन रोक्न सकिने भएकाले जनचेतनामूलक कार्यक्रम गरिएको बताए । कार्यक्रममा बैङ्कका उपनिर्देशक अमिष ढुङ्गेल, सहायक निर्देशक गङ्गेशकुमार झाले नक्कली र सक्कली नोटबारे जानकारी गराएका थिए । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: