बखतियार अलि–
सर्लाही १५ फागुन । पुर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत प्रमोद कुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा ३ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश कुमार महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतो रहेको प्रहरीले जनाएको छ ।
फागुन ३ गते शिवरात्री पर्वको रातिमा पुर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा सुखीपुर नगरपालिका – ९ बैशाखा घर भएका र सर्लाहीको मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका प्रमोद कुमार यादवलाई साँझ करिब ८ बजेको समयमा फोन गरेर डेराबाट बाहिर बोलाइएको थियो ।
प्रहरी उपरिक्षक योगेन्द्र खडकाले दिएको जानकारी अनुसार इन्जिनियर यादव फगुन ३ गते रातीको ८ बजे घर बाहिर निस्किएको केहीबेरमै गोली प्रहार भएको थियो । बाया छातीमा गोली लागेको अवस्थामा फेला परेका उनलाई प्रहरीले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा लगेका थिए ।
उपचारकै क्रममा चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए । जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सव–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनामा नियुक्तिको अवसर हात पार्ने उद्देश्यले योजनाबद्ध तरिकाले हत्या गरेको कुरा अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले वैकल्पिक उम्मेदवार गणेश कुमार महतो सहित तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान तथा हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । महोत्तरी रामगोपालपुर नगरपालिका – ५ घर भई हाल सर्लाहीको बरहथवा नगरपालिका–९ शान्तिटोलमा डेरा गरी बस्दै आएको ३४ वर्षीय गणेश कुमार महतो हत्याको मुख्य योजनाकार रहेको प्रहरीको अनुसंन्धानबाट खुलेको छ । महतो सर्लाहीको रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकका रूपमा कार्यरत छन ।
महतो मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामबाट सहायक पाँचौँ तह सव–इन्जिनियर पदका एक मात्र वैकल्पिक उम्मेदवार रहेको र उक्त पदमा मुख्य सिफारिस भएका उम्मेदवार भने प्रमोद यादव रहेको थियो । मधेश प्रदेश लोक सेवा आयोगबाट प्रमोद यादव सिफारिस भएपछि उनी पछिको पहिलो वैकल्पिक उमेदवार महतो रहेका थिए । नियुक्ति पाएका यादव यदि एक वर्षभित्र कुनै कारणवस जागिर छाडेको वा निजको मृत्यु भएपछि सो पदमा स्वत पहिलो वैकल्पिक उम्मेदवार महतोले सरकारी जागिर पाउने कानुनी व्यवस्था छ ।
तेसैले महतोले यादवलाई बाटोबाट हटाउने योजना लिएर यादवको हत्या गरेको प्रहरीको अनुसंन्धानबाट खुलेको छ । घटनामा महतो र उनका सालो बसबरीया गाउँपालिका–२ मानपुरका २२ बर्षिय चन्द्र किशोर सिंह कुशवाहा भारतीय नम्बर प्लेट बिआर ०१ एफ जेड १०८२ नम्बरको मोटरसाइकलमा चढी बरहथवाबाट मलंगवा आएर मलंगवा १० मा डेरा लिएर बसेका यादवलाई भेटन बोलाएका थिए ।
यादव भेटन आउदा उनी माथि गोली प्रहार गरि भिनाजु र सालो फरार भएको प्रहरीको भनाई छ । प्रहरीको अनुसन्धानमा घटनाको मुख्य आरोपी गणेशका भाइ २२ बर्षिय विजय कुमार महतोको पनि संलग्नता रहेको देखिन्छ । प्रहरीका अनुसार गणेशले दशैंअघि नै विजयलाई ८० हजार रुपैयाँ दिएर हतियार खरिद गर्न लगाएका थिए । विजयले सोही रकममा भारतबाट पेस्तोल खरिद गरी दाजुलाई उपलब्ध गराएका थिए । सोही पेस्तोलबाट यादवको हत्या भएको प्रहरीको भनाई छ ।

