Loktantra Khabar National Weekly
Ad

अति संवेदनशील सूचीमा सर्लाही– ४

लोकतन्त्र खबर
१५ फाल्गुन २०८२

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को सम्पूर्ण मतदानस्थलहरु अति संवेदनशील सूचीमा रहेको जनाइएको छ । सर्लाहीको सुरक्षा समितिले जिल्लाभरका ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटालाई अति संवेदनशील र १ सय ३१ लाई संवेदनशीलको सूचीमा राखेको जनाएको छ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर ४ मा रहेको ८१ वटै मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । सर्लाही जिल्ला भारतसंगको ६४ किलोमिटर लामो खुला सीमानाकासंग जोडिएको छ ।

जसमा सर्लाही क्षेत्र नम्बर ४ का बलरा र गडैता नगरपालिका तथा विष्णुपुर र रामनगर गाउँपालिका भारतीय भू–भागसंग जोडिएको छ । यद्यपि भारतसंग सीमानाका जोडिएको अवस्थामा कुनै पनि बेला जुनसुकै बहानामा यस क्षेत्रमा सामान्य विवादले उग्र रुपमा लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै क्षेत्र नम्बर ४ का सबै मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । जिल्लाभरिका २३ वटा मतदानस्थल मात्र सामान्य सूचीमा रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, नेपाल–भारत सीमा नजिक मतदान स्थल, विगतका निर्वाचनमा दलबीच भएका झडप तथा अपराधिक क्रियाकलापका आधारमा सर्लाही ४ का मतदानस्थललाई अति संवेदनशील स्थानमा राखेको छ । अति संवेदनशील र संवेदनशील मतदानस्थललाई सोहीअनुरुप सुरक्षा घेरामा राखेर भयरहित वातावरणमा निर्वाचन गराउने योजना बनाइएको छ । २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ६ रहेको यहाँ मतदान केन्द्र नै कब्जा गर्ने प्रयास भएको थियो । गढैया मतदान केन्द्रबाहिर बम विस्फोट नै हुँदा तत्कालीन कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंहका दाजु शम्भु सिंहको मृत्यु भएको थियो । २०७९ मा कांग्रेसको संस्थापन पक्षसंग कुरा नमिलेपछि अमरेश कुमार सिंहले पार्टीबाट टिकट पाउन सकेनन् ।

त्यसबेला कांग्रेसबाट टिकट हात पार्न सफल भएका पूर्वजिल्ला सभापति नागेन्द्र कुमारलाई एक हजार ७६४ मतान्तरले पराजित गर्दै स्वतन्त्र (कांग्रेसका बागी) बाट उम्मेदवारी दिएका सिंह तेस्रो पटक यस क्षेत्रबाट सांसदमा निर्वाचित भए । सिंह कांग्रेसबाट उम्मेदवार रहँदा २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का राकेशकुमार मिश्रलाई एक हजार ४६४ मतान्तरले पराजित गरेका थिए । त्यसबेला सिंहले २९ हजार छ सय मत प्राप्त गरी निर्वाचित हुँदा राजपाका मिश्रले २८ हजार १३६ मत प्राप्त गरेका थिए । विगतमा भएको विभिन्न निर्वाचनमा पनि यहाँ मतगणनाका क्रममा झडप भएको थियो । सो क्रममा मानिसहरू घाइते भएका थिए । अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाईफायर नै गर्नुपरेको थियो । गुण्डागर्दी र बलमिच्याइँको तनावपूर्ण विगतकै कारण यसपटक पनि यहाँका उम्मेदवार र मतदाताहरूमा भय देखिन्छ । चुनावका बेला उम्मेदवार र उनका समर्थकहरूबीचको झडप, बुथ कब्जाको प्रयासलगायतका गतिविधि हुने गरेकाले सर्लाही– ४ का सबै मतदानस्थल अति संवेदनशीलमा राखिएको छ । जिल्लाभर ३ सय ३४ वटा हतियार दर्ता भएकोमा ६४ वटा मात्रै आफूलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको तथ्यांक छ । यहाँ घरेलु र अवैध हातहतियारको पनि त्यत्तिकै डर छ । आफ्नो सुरक्षा रणनीति सार्वजनिक गर्न नमिल्ने बताउँदै सर्लाही प्रहरी चुनावका बेला सक्रिय हुनसक्ने नेपाल–भारत दुवैतर्फका आपराधिक पृष्ठ भूमिका व्यक्ति समूहप्रति सचेत रहेको देखिन्छ ।

सर्लाही– ४ अतिसंवेदनशील रहेका छ भने यहाँबाट हेभिवेट उम्मेदवारहरु पनि रहेका छन् । कांग्रेसका सभापति गगन कुमार थापा, ०७९ मा कांग्रेस पार्टी त्यागेर स्वतन्त्र रुपमा निर्वाचित भएका अमरेशकुमार सिंह र उनलाई ०६४ को निर्वाचनमा पराजित गरेको छ । शिवपुजन यादवले छोरा अमनिशकुमारलाई नेकपा (एमाले)बाट प्रतिस्पर्धा गराउँदै छन् । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा) बाट रजनिश राय, जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय यादव, जनमत पार्टीबाट राकेशकुमार मिश्रलगायत ३९ जना चुनावी मैदानमा रहेका छन् । सुरक्षा निकायले पनि गस्ती, निगरानी र आकस्मिक सुरक्षा टोली तयारी अवस्थामा राखिएको बताइन्छ भने नेपाली सेनाको टोली पनि नियमित पेट्रोलिङमा छ । त्यस्तै सर्लाही– १ मा एक लाख ३० हजार ८७१, सर्लाही– २ मा एक लाख २५ हजार ३११, सर्लाही– ३ मा एक लाख ३४ हजार ४१२ र सर्लाही– ४ मा एक लाख २१ हजार १२ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । यसपटक सर्लाहीमा दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ अन्यसहित पाँच लाख ११ हजार ६०६ जना मतदाताले मतदान गर्नेछन् । यस निर्वाचनमा सर्लाहीमा २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: