मलंगवा – सर्लाहीमा प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीसँगै सुरक्षा सतर्कता कडा पारिएको छ। आजदेखि आगामी एक सातासम्म जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ।
जिल्ला सुरक्षा समिति तथा राजनीतिक दलहरूसँगको संयुक्त छलफलबाट फागुन १५ गतेदेखि २२ गतेसम्म कुनै पनि विदेशी नम्बर प्लेटका गाडी सञ्चालन गर्न नदिने निर्णय गरिएको थियो। सोही निर्णय अनुसार आजदेखि उक्त व्यवस्था कार्यान्वयनमा आएको हो। प्रशासनले आदेश उल्लंघन गरी सवारी साधन चलाएको पाइएमा प्रहरीले नियन्त्रणमा लिने चेतावनी दिएको छ।
निर्णय विशेषतः भारतीय नम्बर प्लेटका गाडी तथा मोटरसाइकललाई लक्षित गरी लागू गरिएको छ। फागुन २१ गते हुने निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए। उनका अनुसार बाहिरी सवारी साधनको अनियन्त्रित आवागमनले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले अस्थायी रूपमा रोक लगाइएको हो। यसअघि नै चुनावी वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन मदिरा बिक्री वितरण तथा सेवनमा पनि रोक लगाइएको छ। त्यसैगरी, जिल्ला सुरक्षा समितिको पछिल्लो बैठकले मौन अवधिभर नेपाल भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। प्रशासनले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन सबैसँग सहयोगको अपिल गरेको छ । सौजन्य धड्कन एफ.एम.

