काठमाडौं, १० फागुन । विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यले नेपाली युवाको सक्रियतामा यूनेपाल एप निर्माण गरिएको छ । मनोज भट्टराई र सरोज चौलागाईं लगायतका युवाहरूले यो एप निर्माण गरेका हुन् ।
फेसबुक र इन्स्टाग्राम जस्तै प्रयोगमैत्री डिजाइनमा एप तयार गरिएको एप निर्माणमा संलग्न सरोज चौलागाईं ले जानकारी दिए । ठूला अन्तर्राष्ट्रिय सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्नेभन्दा पनि देश तथा विदेशमा रहेका नेपाली समुदायलाई एकजुट गर्ने साझा डिजिटल चौतारी निर्माण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
चौलागाईंका अनुसार युनेपाल एपमा रोजगारी खोज्न वा दिन, सामान किनबेच गर्न, कोठा खोज्न वा भाडामा लगाउन, सूचना–समाचार, विभिन्न घटना तथा कार्यक्रमबारे जानकारी आदानप्रदान गर्न सकिने सुविधा रहेको छ । साथै प्रयोगकर्ताले फोटो तथा भिडियो पोस्ट गर्न, लाइक–कमेन्ट गर्न र नजिकका साथीहरूसँग कनेक्ट हुन सक्ने विशेषता पनि छ । एपले साना तथा मध्यम व्यवसायलाई समेत अनलाइन माध्यमबाट प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास युवाहरूको छ । सौजन्य अनलाइनखबर

