बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रालाई १५० करोड भारतीय रुपैयाँ बराबरको क्रिप्टो पन्जी घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा मुम्बईको विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको आरोपपत्रका आधारमा सुरु भएको यस अनुसन्धानमा कुन्द्रालाई ठुलो राहत मिलेको हो। अदालतले उनले अनुसन्धानमा सहयोग गरेको र तत्काल हिरासतमा राख्नुपर्ने ठोस कारण नदेखिएको भन्दै न्यायिक जमानत स्वीकृत गरेको छ। प्रवर्तन निर्देशनालयका अनुसार कुन्द्रासँग हालको बजार मूल्य अनुसार करिब १५० करोड भारु बराबरका २८५ वटा बिटक्वाइन रहेका छन्, जुन यस घोटालाका मुख्य योजनाकार अमित भारद्वाजबाट प्राप्त भएको दाबी गरिएको छ ।
कुन्द्राले ती बिटक्वाइन युक्रेनमा माइनिङ परियोजनाका लागि लिएको बताए पनि उक्त परियोजना कहिल्यै सुरु नभएको ईडीको जिकिर छ । सरकारी वकिलले कुन्द्राले आफूलाई केवल मध्यस्थकर्ता मात्र भएको दाबी गरे पनि प्राप्त प्रमाणहरूले उनी यस योजनाको प्रत्यक्ष लाभग्राही भएको आरोप लगाएका छन् । अदालतले कुन्द्रालाई केही सर्तसहित जमानत दिएको छ, जसमा आगामी सुनुवाइहरूमा अनिवार्य उपस्थित हुनुपर्ने उल्लेख छ। यो मुद्दा अब अर्को चरणको कानुनी प्रक्रिया र प्रमाणहरूको विस्तृत समीक्षाका लागि अघि बढ्नेछ, जहाँ कुन्द्राले आफ्नो पक्षमा थप प्रमाणहरू पेश गर्नुपर्नेछ । सौजन्य यात्रा डेली

