Loktantra Khabar National Weekly
Ad

इरानमा फेरि सुरु भयो सरकार विरोधी आन्दोलन

लोकतन्त्र खबर
१० फाल्गुन २०८२

इरानका विभिन्न विश्वविद्यालयहरूमा विद्यार्थीहरूले पुनः सरकार विरोधी प्रदर्शन सुरु गरेका छन्। राजधानी तेहरानस्थित शरिफ युनिभर्सिटी अफ टेक्नोलोजी र अमिर कविर विश्वविद्यालयमा हजारौँ विद्यार्थीले ‘तानाशाही अन्त्य गर’ भन्दै नाराबाजी गरेका हुन्। गएको महिनाको हिंसात्मक दमनमा मारिएका हजारौँ प्रदर्शनकारीको सम्मानमा नयाँ सेमेष्टरको सुरुवातसँगै यो प्रदर्शन चर्किएको हो।

तेहरानका साथै मशहद लगायतका सहरमा पनि विद्यार्थीहरूले आफ्नो अधिकारका लागि आन्दोलन जारी राखेका छन्। कतिपय स्थानमा प्रदर्शनकारी र सरकार समर्थकहरूबीच झडप समेत भएको छ। यसैबीच, इरान र अमेरिकाबीचको सैन्य तनाव उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। इरानले आणविक हतियार निर्माण गर्न खोजेको आशंकामा अमेरिका र युरोपेली राष्ट्रहरूले सैन्य उपस्थिति बढाएका हुन्। यद्यपि, स्विट्जरल्याण्डमा भएको दुई पक्षीय वार्तामा आणविक कार्यक्रम नियन्त्रण गर्ने विषयमा केही प्रगति भएको बताइएको छ। राष्ट्रपति ट्रम्पले आगामी १० दिनभित्र इरानसँग सम्झौता हुने वा सैन्य कारबाही गरिने भन्नेबारे निर्णय हुने स्पष्ट पार्नुभएको छ। मानवअधिकारवादी संस्थाहरूका अनुसार इरानमा पछिल्लो समय भएका प्रदर्शनमा ६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: