Loktantra Khabar National Weekly
Ad

‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, फेरि पनि गर्नेछैन’ – केपी शर्मा ओली

लोकतन्त्र खबर
१० फाल्गुन २०८२

वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको बताएका छन् । आफ्नो ६० वर्षे लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गर्दै उनले देशको विकास र राष्ट्रियताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको जिकिर गरेका हुन् ।

झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउनेदेखि उत्तरतिरको नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरेर मधेसको अर्थतन्त्र उकास्ने काम भएको स्मरण गराए । अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै एउटा पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन नसकिने बताए । देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको भन्दै उनले देश बनाउने सफल र सक्षम शक्तिलाई छाडेर असफल भइसकेका र चिन्दै नचिनेकालाई भोट दिनुपर्ने भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरे । एमाले मात्रै देशको रक्षा गर्न सक्ने पार्टी भएको दाबी गर्दै उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता एमाले रहुन्जेलसम्म तलमाथि पर्नै नसक्ने बताए । उनले देशको एक–एक इन्च भूमिको रक्षा गरिने प्रतिबद्धता समेत व्यक्त गरे । एमाले छाला बचाउन घुँडा टेक्ने र टाउको जोगाउन शिर झुकाउने कायर पार्टी नभएको ओलीले स्पष्ट पारे । राणा शासनदेखि लडेर देशलाई यहाँसम्म ल्याइपु¥याएको पार्टी कुनै कठपुतलीसँग डराएर पिठ्यूँ नफर्काउने उनको भनाइ थियो ।

‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, फेरि पनि गर्नेछैन । तर ममाथि यत्रो प्रहार किन ? म कमिसन खान्न, कमिसनखोर होइन । फेरि ममाथि यत्रो प्रहार किन ? म देशको बारेमा, जनताको बारेमा, देशको विकासको बारेमा, देशको सुरक्षाको बारेमा, देशमा शान्ति सुव्यवस्था अमन चयनको बारेमा, जनताको जिउधनको रक्षाको बारेमा सधैँ सोचिरहन्छु, चिन्तित हुन्छु । त्यसका लागि काम गर्छु । फेरि मलाई यति अपमान, यति विरोध किन ? मैले यिनै काम गरेको हुनाले ? देशको माया गरेको हुनाले ? मिचिएको भूभाग फिर्ता ल्याउन थालेको हुनाले ? उत्तरतिरबाट पनि बाटो खोलेको हुनाले ? विभिन्न नाकाहरू खोलेर उत्तरी दुर्गम क्षेत्रका जनतालाई पनि सहजता बनाएको हुनाले पिछडिएका मधेसका दक्षिण क्षेत्रका गाउँहरू हुलाकी राजमार्ग निर्माण गरेर दक्षिणका गाउँहरू आधुनिकतातर्फ लागेको हुनाले, दक्षिणको अर्थतन्त्रलाई पनि विकास गरेको हुनाले ? मेरो विचारमा त्यसै कारणले, नेपालीहरूलाई जातजातमा विभाजन गर्न खोज्ने, धर्मधर्ममा विभाजित गर्न खोज्ने, भूगोलभूगोलमा विभाजन गर्न खोज्ने, फाटो ल्याउन खोज्ने, नेपाललाई कमजोर पार्न नेपालीहरूलाई एकताबद्ध हुनै नदिने खालका प्रयासहरूको विरुद्धमा म दह्रो गरी उभिएँ । त्यसैकारण मेरो अपमान, त्यसैकारण झुटा लाञ्छना र आरोपहरू । किन एमालेमाथि हमला यत्रो? एमालेले देश बनाएको छ, देशमा ठुलो परिवर्तन ल्याएको छ’ उनले भने ।

देशमा सुशासन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण र विकासको गतिलाई तीव्रता दिन एमालेले अगाडि बढाएको अभियानलाई बिना रोकटोक अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । साथै, हजारौँ वर्ष लगाएर पुर्खाहरूले विकास गरेका संस्कृति र संस्कारको रक्षा गर्दै समाजमा रहेका विकृति र पुरातन बेथितिहरूलाई भने हटाउँदै जानुपर्ने अध्यक्ष ओलीले बताए । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: