रौतहटको गौर नगरपालिका–६ स्थित सवगढामा शुक्रबार दिनभरिको दुई समुदायबीचको झडप भएको थियो । सो झडपपछि जिल्ला प्रशासन कार्यालयको पहलमा ६ बुँदे सहमति भएको थियो । तर सो सहमति प्रति बेवास्ता गर्दै शनिबार दिनभर गौर तनावग्रस्त रह्यो । गौरको अवस्थालाई नियन्त्रणमा लिनका लागि जिल्ला प्रशासन कार्यालय रौतहटले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । दुई समुदायबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लागि जिल्ला सुरक्षा समिति रौतहटले शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकामा कफ्र्यू आदेश जारी गरेको छ । गौर नगरपालिकाको पूर्वतर्फको मुडवलवा गेट, पश्चिमतर्फको ललवैया बाँध, उत्तरतर्फको बम नहर र दक्षिणतर्फको गौर भन्सार कार्यालय गेटसम्म कफ्र्यू आदेश जारी गरिएको छ । कफ्र्यू आदेशको उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले चेतावनी दिए ।
दुई समुदायबीच भएको ६ बुँदे सहमतिलाई बेवास्ता गर्दै शनिबार बिहानदेखि नै योजनावद्ध तवरले झडप भएको थियो । झडपका क्रममा गौरमा ३ वटा गाडी र २ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । यसका साथै एक पेट्रोल पम्पमा तोडफोडसमेत भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णुप्रदीप वस्यालले आगजनी र तोडफोड भएको पुष्टि गर्दै स्थिति नियन्त्रणमा लिनलाई सुरक्षाकर्मी परिचालन गरिएको बताए । झडपले उग्र रुप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितको सुरक्षाकर्मी परिचालन गरिएको छ । यस अघि शुक्रबार स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मीले १२ राउण्ड हवाइफायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । गौरमा शुक्रबार दुई समुदायबीच भएको सामान्य भनाभनले उग्ररुप लिएपछि दंगामा परिणत भएको थियो ।
सो क्रममा तोडफोड, आगजनी र ढुंगामुढा हानाहानका घटना बढेपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । गौर नगरपालिकास्थित विभिन्न धार्मिक स्थल र सवारी साधन लक्षित आक्रमण भएपछि सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको छ । सो क्षेत्रमा अहिलेसम्म ५ वटा मोटरसाइकल, २ वटा स्कुटर, १ वटा स्कार्पियो गाडी र १ वटा ई– रिक्सा गरी जम्मा ९ वटा सवारी साधन पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ । त्यस्तै २ वटा मोटरसाइकल र १ वटा ई–रिक्सा गरी ३ वटा सवारी साधन तोडफोड गरिएको छ । ढुंगामुढा हानाहानका क्रममा गौर नगरपालिका–६ का अन्दाजी ४६ वर्षीय भगरिथ साहको टाउकोमा चोट लागेको छ ।
यसअघि घाइते भएका ६ जना स्थानीय उपचारपछि डिस्चार्ज भइसकेका छन् । घटनामा घाइते भएका २ जना प्रहरी कर्मचारी पनि डिस्चार्ज भइसकेका छन् । रौतहट प्रशासनले दंगा भड्काउने आरोपमा जनमत पार्टीका नेता शेख जमशेद र गौर नगरपालिका–६ का वडाध्यक्ष अवध विहारी प्रसाद तेलीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यससंगै थप २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताइएको छ । सामाजिक सद्भावमा खलल पु¥याउनेहरुलाई नियन्त्रणमा लिइ प्रशासनले अनुसन्धान अघि बढाइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । संवेदनशील क्षेत्रमा अतिरिक्त प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ ।
उच्च संयमता अपनाउन केन्द्रीय सुरक्षा समितिको आग्रह रौतहटमा कायम तनावलाई दृष्टिगत गरी दुबै पक्षलाई उच्च संयमता अपनाउन सरकारले आग्रह गरेको छ । रौतहटमा दुई समुदायबीच भएको विवादले उग्ररुप लिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न शनिबार केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गर्दै दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । सुरक्षा निकायका चारवटै प्रमुखसहित बसेको बैठकले रौतहटमा सद्भाव कायम गर्न आग्रह गरिएको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य सुवेदीले जारी गरेको विज्ञप्तिमा सबै पक्षलाई संयमता अपनाउन, कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नगर्न–नगराउन तथा सबै धर्म र समुदायबीच पारस्परिक सम्मान र सहिष्णुता कायम राख्न सादर अनुरोध गरिएको छ । रौतहट, दाङलगायतका क्षेत्रमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पर्ने गतिविधि, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड, राजनीतिक दलका झण्डा जलाउने जस्ता कानूनविपरीत कार्य भएका छन् । यस्ता गतिविधिले सामाजिक मर्यादा र आपसी विश्वासमा आँच पु¥याएको ठहर गरिएको जनाइएको छ । त्यस्तै केन्द्रीय सुरक्षा समिति बैठकद्वारा नेपाल प्रहरीका एआइजी उमाप्रसाद चतुर्वेदीलाई मधेशमा पछिल्लो समय भएको र हुनसक्ने सम्भावित गतिविधिको विश्लेषण गर्न खटाउने निर्णय गरेको छ । गृह मन्त्रालयमा बसेको समिति बैठकले एआइजी चतुर्वेदीलाई प्रतिवेदन पेश गर्नका लागि खटाउने निर्णय गरेको प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जनाए । रौतहटको घटना र चुनावी प्रचारप्रसारको क्रममा झण्डा जलाउने लगायत गतिविधि हुन थालेपछि गृह मन्त्रालयले समितिको बैठक बोलाएको थियो । सौजन्य जनकपुर टुडे

