Loktantra Khabar National Weekly
Ad

दक्षिण ललितपुर अब विकट होइन, राजधानी छेउको आकर्षक ग्रामीण–सहर बन्नुपर्छ

लोकतन्त्र खबर
७ फाल्गुन २०८२

निर्वाचनको मुखैमा उभिएर जनताबीचमा जाँदा एउटा गहिरो प्रश्नले मलाई सधैं पिरोलिरहन्छ, के हामी साँच्चै आफ्नो भविष्य आफैं निर्धारण गर्न सक्षम छौँ ? वा हामी सधैं केही शक्ति केन्द्रहरूकै इशारामा नाच्न अभिशप्त छौं ? अचेल ललितपुर–१ का हरेक गाउँ, टोल र बस्तीमा पुग्दै गर्दा म जनताका अनुहारमा एउटा गहिरो निराशा पाउने गर्छु । त्यो निराशा केवल गरिबी वा अभावको मात्र पक्कै होइन । त्यहाँ अझै ठूलो पीडा लुकेको भेट्छु । त्यो हो– हाम्रो राजनीतिप्रति आम मानिसको मोहभंग । हामीले धेरै दुःख गरेर नयाँ संविधान पायौँ । संघीयता पायौँ । धेरै संघर्षपछि मुलुकमा गणतन्त्र पनि पायौँ । तर अझै हाम्रा सामु प्रश्नहरू सकिएनन् । के हामीले सुशासन पायौँ ? के हामीले न्याय पायौँ ? के हाम्रा युवाहरूले स्वदेशमै रोजगारी पाए ? जवाफ ज्यादै दुःखद छ ।

हामीले आफ्नो आकांक्षा आफ्नै जीवनमा अनुवाद भएको हेर्न पाएनौँ । बरु भ्रष्टाचारको नयाँ रूप देख्यौँ, कुशासनको पराकाष्ठा भोग्यौँ, र सडकमा न्याय माग्ने युवाहरूको रगत बगेको पनि देख्यौँ । फलतः आज हाम्रो संविधान मूर्छित छ । राज्यका निकायहरू पंगु छन् र आम जनजीवन सकसमा छ । एकातर्फ जनताका आकांक्षा छन्, अर्कोतिर गरिबी, भ्रष्टाचार र कुशासनको शासन छ । युवाहरू लाखौँको संख्यामा विदेशिन बाध्य छन्, राष्ट्रिय ऋण बढिरहेको छ, व्यापार घाटा कहालीलाग्दो छ । राजनीतिक शक्तिहरू समाधान खोज्नुको सट्टा एक–अर्कामा दोषारोपण गर्न व्यस्त छन् । हामी आपसमा दोषारोपण गरेर मात्रै उम्किन पक्कै पाउँदैनौँ । आजको मितिमा हरेक सचेत युवाले केवल प्रश्न र आवेग तेर्साएर मात्रै भाग्न पाउँदैन । अब राज्य सञ्चालनको चिन्तन र तरिका नै फेर्नुपर्छ । नेपालको राजनीतिले बाटो बिराएको छ । यसलाई न्यायपूर्ण, सहभागितामूलक, पारदर्शी र जनउत्तरदायी बनाउन आवश्यक छ । राष्ट्रनिर्माण, राज्यको स्वरूप निर्धारण र संस्था निर्माणजस्ता रणनीतिक अभियानमा जनताको सहभागिता र भावना समेट्नुपर्छ । अब प्रभावकारी, समावेशी र उत्तरदायी शासन प्रणालीको विकल्प छैन ।

आर्थिक क्षेत्रमा हामीले एउटा ठूलो भ्रम पाल्दै आएका छौँ । मुलुकको अर्थराजनीति सुधार्छ भनिएको नवउदारवादी नीतिले केवल बजारलाई सर्वशक्तिमान् बनायो । तर, राज्यलाई भने कमजोर पारिदियो । त्यसको परिणाम के भयो भने केही पुँजीपतिको हातमा अर्थतन्त्र केन्द्रित भयो । आम जनता झनै तन्नम बने । हाम्रो संविधानले तीनखम्बे अर्थतन्त्र अर्थात् सार्वजनिक, निजी र सहकारी क्षेत्रको समुचित सहभागिताको परिकल्पना गरेको छ । यसको अर्थ राज्य हात बाँधेर बस्नु भन्ने किमार्थ होइन । आधारभूत उत्पादन र आर्थिक गतिविधिमा राज्यको यथोचित उपस्थिति हुनुपर्छ । सार्वजनिक संस्थानहरूलाई प्रभावकारी बनाउनुपर्छ । नीति निर्माणमा रहेको अपारदर्शिता र परनिर्भरताको अन्त्य गर्दै नीतिगत स्वायत्तताको अभ्यास गर्न आवश्यक छ । ललितपुर–१ मा भौगोलिक विविधता र सांस्कृतिक सम्पदा भरपुर छ । यहाँको दक्षिणी भाग राजधानीको निकट भएर पनि पूर्वाधारका दृष्टिले पछि परेको छ । ठूलो सम्भावनासहित विकटताको पीडा बोकेर दक्षिण ललितपुरका गाउँहरू निराश र हतास देखिन्छन् । यसलाई हामी ‘राजधानी छेउको आकर्षक एवं उत्पादक ग्रामीण–सहर’ को अवधारणामा विकास गर्न सक्छौँ ।

यो काम त्यति सजिलो पक्कै छैन । यसका लागि लेले–चन्दनपुर–फापरबारी सडकलाई पूर्वी नेपाल जोड्ने भरपर्दो वैकल्पिक लोकमार्गका रूपमा विकास गर्नुपर्छ । मध्यमार्गी लोकमार्ग र कान्ति लोकपथको स्तरोन्नति गर्नुपर्छ । यस क्षेत्रलाई ‘दक्षिण ललितपुर चक्रपथ’ ले आपसमा जोड्न सकिन्छ । टुङ्गुन खोला, ठोस्ने खोला, नख्खु–भारदेउ र लेले–टिकाभैरव करिडोरलाई व्यवस्थित गरेर यातायात, तटबन्ध र वातावरणीय सन्तुलनको मोडेलका रूपमा यसको विकास गर्न सकिन्छ । सडक तथा पूर्वाधार मात्रै विकास हो भन्ने धारणा आफैंमा अपूर्ण र गलत छ । समाजको उन्नति र प्रगतिका लागि पूर्वाधार एउटा पक्ष मात्रै हो । त्यहाँको उत्पादन, रोजगारी, उद्यमशीलता तथा गतिशील समाजको खाँचो पर्छ । त्यहाँ जाँदा भरिएर गएका ट्रकहरू फर्किंदा उल्लेख्य मूल्यका स्थानीय उत्पादन लिएर फर्किनुपर्छ । शिक्षा र स्वास्थ्य राज्यको मूल जिम्मेवारी हुनुपर्छ । संघीय शिक्षा ऐन जारी गरेर सर्वसुलभ र गुणस्तरीय शिक्षाको व्यवस्था गर्न सकिन्छ । पहाडी क्षेत्रमा ‘एक वडा एक आवासीय विद्यालय’ को अवधारणा लागू गर्न सकिन्छ । शिक्षकहरूको क्षमता अभिवृद्धि र प्रोत्साहनको व्यवस्था गर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क र अनिवार्य गराउन सकिन्छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ । स्थानीय तहका अस्पताललाई विशेषज्ञ सेवासहितको स्वास्थ्य केन्द्रका रूपमा विकास गर्नुपर्छ । जटिल रोगबाहेक अन्य स्वास्थ्य समस्या पालिकाकै अस्पतालमा समाधान हुने व्यवस्था गर्नुपर्छ । सूचना–प्रविधिको युगमा सञ्चार पूर्वाधारलाई प्राथमिकता दिन आवश्यक छ । ग्रामीण तथा सहरी क्षेत्रका नागरिकलाई भरपर्दो टेलिफोन, मोबाइल नेटवर्क र इन्टरनेट सञ्जालमा जोड्नुपर्छ । नेपालको इन्टरनेट सञ्जालमा रहेको बाह्य एकाधिकार तोड्नुपर्छ । सूचना–प्रविधि र कृत्रिम बौद्धिकतालाई विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गर्नुपर्छ । आईटी क्षेत्रलाई आर्थिक रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्छ । ललितपुर–१ सांस्कृतिक रूपमा धनी छ । ऐतिहासिक बस्ती प्याङगाउँलाई संरक्षण गर्नुपर्छ । वज्रवाराही, विशंखुनारायण, गोदावरी नौधारा, गोदावरी कुण्ड, लेले सरस्वती, टिकाभैरव, गुप्तेश्वर गुफा, कालेश्वर गुम्बा, शंखुको छ्योर्तेनजस्ता धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ ।

तामाङ, मगर, नेवारी, पहरी, बराम, सुनुवारलगायत भाषा, संस्कृति र लिपिको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ । खेलकुदमा एक पालिका एक रंगशाला, एक वडा एक कभर्ड हलको अवधारणा अघि बढाउन सकिन्छ । माध्यमिक तहको विद्यालयमा खेल शिक्षकको व्यवस्था नीतिगत रूपमै गरिनुपर्छ । उत्पादन र रोजगारीको सवालमा हामीले दीर्घकालीन सोच बनाउनुपर्छ । कृषि क्षेत्रमा रहेको अनुदान कटौतीको नीति खारेज गर्नुपर्छ । आधारभूत खाद्यपदार्थमा आत्मनिर्भर हुने नीति लिनुपर्छ । कृषि तथा पशुपालन, बीउ, प्रविधि, सिँचाइ, मल र बजारको व्यवस्थामा राज्यले प्रमुख भूमिका खेल्नुपर्छ । कृषकको बीमा, सम्मान तथा पेन्सनको व्यवस्था गर्नुपर्छ । ठूलादुर्लुङ, आश्राङ, गिम्दी, प्युटारलगायत क्षेत्रमा कफी उत्पादन, प्रशोधन तथा बजारीकरणको व्यवस्था गर्न सकिन्छ । राजधानीको मागलाई ध्यानमा राखी तल्लो ललितपुर क्षेत्रमा तरकारी, फलफूल, पशुपालन तथा मत्स्यपालनलाई प्रोत्साहन गर्नुपर्छ । ‘स्वदेश फिर्ती अभियान’ चलाएर युवा पलायन नियन्त्रण गर्नुपर्छ । विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्छ ।

सामाजिक न्याय र प्रणालीगत सुधार पनि उत्तिकै महत्वपूर्ण छन् । प्रत्यक्ष लोकतन्त्रको विकासका लागि प्रारम्भिक अभ्यास सुरु गर्नुपर्छ । वित्तीय क्षेत्रमा रहेको अल्पाधिकार अन्त्य गरेर वित्तीय लोकतन्त्र कायम गर्नुपर्छ । जातीय भेदभाव र छुवाछूत कडाइपूर्वक निषेध गर्नुपर्छ । राज्यद्वारा उत्पीडित तथा बहिष्कृत समुदायको राज्यसम्म पहुँच, सहभागिता तथा न्यायपूर्ण उपस्थिति सुनिश्चित गर्नुपर्छ । न्याय प्रणालीलाई छरितो, सर्वसुलभ र प्रभावकारी बनाउनुपर्छ । प्रगतिशील कर प्रणाली लागू गर्नुपर्छ । बालबालिका, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गहरूको सुरक्षा र हेरचाहमा राज्य जिम्मेवार हुनुपर्छ । यी सबै अवधारणा कार्यान्वयन गर्न राजनीतिक इच्छाशक्ति मात्र होइन, राज्य सञ्चालनको चिन्तन र तरिका नै फेर्नुपर्छ । हामी केवल निर्वाचन जितेर सत्तामा पुग्ने होइन, बरु राजनीतिको दिशा र गति नै परिवर्तन गर्ने अभियानमा छौँ । सत्तामा रहँदा नीति, कानुन र बजेटमार्फत यी अवधारणा कार्यान्वयन गर्न सकिन्छ ।

प्रतिपक्षमा रहँदा सशक्त आवाज उठाएर रचनात्मक दबाब सिर्जना गर्न सकिन्छ । र, दुवै अवस्था नभएमा संघर्षका कार्यक्रममार्फत जनताको पक्षमा आवाज उठाउन सकिन्छ । तर, एउटा कुरामा स्पष्ट हुनुपर्छ– सत्ताकै लागि जोसुकैसँग अराजनीतिक गठबन्धन भने कदापि गर्नु हुँदैन । हाम्रो बाटो समाजवादको बाटो हो । मान्छेको सर्वतोमुखी विकास, न्यायपूर्ण व्यवस्था र समतामूलक समाज नै हाम्रो लक्ष्य हो । यो कुनै दल विशेषको मात्र नभएर हरेक नेपालीको सपना हो । यो सपना साकार पार्न हामी सबैले मिलेर राज्य सञ्चालनको चिन्तन, तरिका, व्यवहार र कर्म फेर्नुपर्छ । जनताको एकताको बलमा नीति र राजनीति फेर्नुपर्छ । ललितपुर–१ मा हामीले देखेको समस्या केवल यस क्षेत्रको मात्र होइन । लगभग समग्र नेपाली समाजको कथा हो । त्यसैले यहाँको विकासको मोडेलले अन्य क्षेत्रलाई पनि बाटो देखाउन सक्छ । अब दक्षिण ललितपुर विकट रहनुहुन्न । यो राजधानी छेउको आकर्षक एवं उत्पादक ग्रामीण–सहर बन्नुपर्छ । यो केवल नारा होइन । एउटा दृष्टिकोण हो । नयाँ सोच हो । हामी प्रस्तुत अवधारणा र विचारबारे बहस र संवादका लागि तयार छौँ । हामी प्रष्ट छौँ– परिवर्तन केवल निर्वाचनबाट मात्र होइन, बरु विचार र चिन्तनको आदानप्रदान र सघन अन्तरक्रियाबाट पनि सम्भव छ । आउनुहोस्, पहिलो पाइला सही दिशामा चाल्ने प्रयत्न गरौँ । सौजन्य रातोपाटी

प्रतिक्रिया दिनुहोस्: