आजको व्यस्त जीवनशैली र असन्तुलित खानपानका कारण उच्च रक्तचाप (हाई ब्लड प्रेशर) आम मानिसको प्रमुख स्वास्थ्य समस्या बन्दै गएको छ। यसले छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, थकान र मुटुको धड्कन बढ्ने जस्ता समस्या निम्त्याउँछ। लामो समयसम्म नियन्त्रणमा नरहेमा यसले मुटु र किड्नीसम्बन्धी जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरू भन्छन्, “उच्च रक्तचाप नियन्त्रण गर्न नियमित व्यायाम र सन्तुलित आहार अति आवश्यक हुन्छ।“ त्यस्तै, शरीरमा सोडियमको मात्रा सन्तुलन गर्न पोटाशियमयुक्त खानेकुरा सेवन गर्न सल्लाह दिइन्छ।
अमला चियाः प्राकृतिक उपाय पछिल्ला अध्ययनहरूले देखाएको छ कि अमलाको चिया उच्च रक्तचाप सन्तुलनमा राख्न निकै उपयोगी हुन्छ। अमलामा पोटाशियम, भिटामिन सी, आइरन, क्याल्सियम, फाइबर र एन्टीअक्सिडेन्ट प्रशस्त पाइन्छ, जसले शरीरलाई प्राकृतिक रूपमा स्वस्थ राख्न मद्दत गर्छ। अमला सेवनले केवल रक्तचाप मात्र होइन, मधुमेह, मोटोपन र हृदयसम्बन्धी रोगहरूको जोखिम पनि घटाउँछ। साथै, यसमा पाइने प्रशस्त भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
अमलाको चिया बनाउन निम्न विधि अपनाउन सकिन्छः २ कप पानी उमाल्नुहोस्। यसमा १ चम्चा अमला पाउडर, थोरै दालचिनी, अदुवा, ल्वांग र मरिच राख्नुहोस्। मिश्रणलाई केहीबेर राम्ररी उमाल्नुहोस्। उम्लिसकेपछि छानेर चिया तयार पार्नुहोस्। चाहनुहुन्छ भने स्वादका लागि मह पनि मिसाउन सकिन्छ। यो चिया दिनको दुईपटक सेवन गर्न सकिन्छ। नियमित रूपमा अमला चिया पिउनुले रक्तचापलाई सन्तुलनमा राख्न ठूलो मद्दत गर्ने चिकित्सकहरूको भनाइ छ। प्राकृतिक उपायमार्फत उच्च रक्तचाप नियन्त्रण गर्ने सोचमा हुनुहुन्छ भने अमलाको चिया तपाईंको लागि प्रभावकारी विकल्प बन्न सक्छ। नियमित सेवन र स्वस्थ जीवनशैलीले मात्र दीर्घकालीन स्वास्थ्य सुनिश्चित हुन्छ । सौजन्य यात्रा डेली

