Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा जसपाका उम्मेदवारमाथि दुव्र्यवहार गरेको आरोपमा नेकपाका कार्यकर्ता पक्राउ

लोकतन्त्र खबर
७ फाल्गुन २०८२

सरोज यादव, मलंगवा – सर्लाहीको बागमती पुल नजिकै रहेको एक होटलमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार डा. जेपी यादवमाथि दुव्र्यवहार र धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भनिएका प्रसान्त वाइवाले सुनियोजित ढंगले होटलमै पुगेर डा. यादवलाई धम्क्याएको आरोप लागेको छ । प्रत्यक्षदर्शीका अनुसार वाइवाले अपमानजनक शब्द प्रयोग गर्दै “मधेशीहरू बीस–तीस रुपैयाँको खान्छन्, यहाँबाट भाग” जस्ता अभिव्यक्ति दिएका थिए । साथै “मधेशीहरूको ओकात थोरै छ” भन्दै जातीय रूपमा होच्याउने प्रयास गरेको आरोप पनि लागेको छ ।

घटनाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले सक्रिय भएर अनुसन्धान गरी एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रारम्भिक जानकारी अनुसार पक्राउ परेका व्यक्ति माओवादी निकट कार्यकर्ता रहेको बताइएको छ । जसपा नेपालका स्थानीय नेता–कार्यकर्ताले उम्मेदवारमाथि भएको दुव्र्यवहारको कडा निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् । यस घटनाले चुनावी माहोल तातेको अवस्थामा सर्लाहीमा राजनीतिक तनाव बढ्ने संकेत देखिएको छ। प्रहरीले शान्ति–सुरक्षा कायम राख्न आवश्यक सतर्कता अपनाएको जनाएको छ । सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: