मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफू मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गर्न तत्पर रहेको बताएका छन् । जनकपुरधाममा मंगलबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले प्रतिष्ठानको विकासको लागि सकेजति प्रदेश सरकारले सहयोग गर्ने र दातृनिकायलाई समेत सहयोगका लागि आग्रह गर्ने बताए । उनले मधेश प्रदेशको जनसंख्या करिब ६५ लाख रहे पनि यहाँ उचित उपचारको अभाव अहिले पनि रहेकोले प्रतिष्ठानलाई बलियो र गुणस्तरीय सेवा सुविधा र आमजनको सहज पहुँचका लागि व्यवस्थापन तर्फ गम्भीर हुनु आवश्यक रहेको बताए । उनले प्रदेश सरकारको बजेटमा पनि शिक्षक, होस्टेल, व्यवस्थित होस्पिटललगायतका आवश्यक सहयोग गर्नका लागि छुट्याइएको बताए । जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई काठमाण्डुको वीर होस्पिटलको स्तरमा पु¥याउने लक्ष्य प्रदेश सरकारको रहेको उनको भनाइ छ । मुख्यमन्त्री यादवले जस्तो सुकै विरामीको उपचार जनकपुरधाममै सम्भव होस् भन्ने उद्देश्यले प्रदेश सरकारले आमजनको सुविधाका लागि गम्भीर रहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले प्रतिष्ठानको विकासका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्ने भन्दै तत्काल प्रतिष्ठानको आवश्यक विकास निर्माणको कार्यतर्फ गम्भीर हुन आग्रह गरे । त्यस्तै डा. प्रमोद यादवले प्रतिष्ठानको विकासका लागि आफूहरु गम्भीर रहेको बताए । उनले उक्त प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणतर्फ अझै पनि बाँकी रहेकाले प्रदेश सरकारले छुट्याएको बजेट अनुसार टेण्डर आह्वान छिट्टै प्रक्रिया अघि बढाइने बताए । उनले प्रतिष्ठानको भवन र तीन सय जति शैय् याको आवश्यकता रहेको बताए । यस प्रतिष्ठानमा भौतिक पूर्वाधारसंगसंगै मानव संशाधनको आवश्यकता रहेको उनले बताए । नेपालको करिब ३८ जिल्लाबाट विद्यार्थीहरु अहिले प्रतिष्ठानमा अध्ययरत रहेको उनले बताए ।
उक्त समारोहमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. अंकुर साह, शिक्षाध्यक्ष रामनरेश पण्डित, रजिष्ट्रार प्रा.डा. विनोद कुमार यादवलगायतकाले स्थापना दिवसदेखि हालसम्मको अवस्थासम्मबारे आफ्नो अनुभव र प्रतिष्ठानको आवश्यकताबारे बोलेका थिए । उक्त समारोहमा मुख्यमन्त्री यादवले प्रतिष्ठानले प्रकाशित गरेको कोशिश मुखपत्रको समेत लोकार्पण गरेका थिए । उक्त प्रतिष्ठानले मधेश प्रदेशको स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक दुरगामी सोचका साथ वि.सं. २०७७ मा स्थापना भएको थियो ।
प्रतिष्ठान स्थापनाको पाँच वर्षे उपलब्धी स्थापना भएको पाँच वर्षमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले निकै फड्को मारेको छ । मधेश प्रदेशमै पहिलो पटक सरकारी स्तरबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने संस्थाको रुपमा रहेको छ । यसको अतिरिक्त स्नातक तहमा बी.एस्सी. नर्सिङ, बी.एन.एस, जनस्वास्थ्य तथा प्रयोगशाला चिकित्सालगायतका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेको प्रतिष्ठानले जनाएको छ । त्यस्तै स्नातकोत्तर तहमा बालरोग, प्रसुति तथा स्त्रीरोग, इन्टरनल मेडिसिन तथा जनरल सर्जरी विषयमा विशेषज्ञस्तरको शिक्षा प्रदान गरिदैं आएको जनाइएको छ ।
हालै थप १४ वटा स्नातकोत्तर सिट प्राप्त हुनु प्रतिष्ठानको शैक्षिक क्षमता विस्तार र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता पूरा गर्नतर्फ समेत अग्रसर रहेको छ । उक्त प्रतिष्ठानले अनुसन्धानको क्षेत्रमा समेत प्रतिष्ठानले उल्लेखनीय प्रगति गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट संस्थागत समीक्षा समितिको स्वीकृति प्राप्त गरेको छ । यस माध्यमबाट यहाँ सञ्चालन हुने अनुसन्धानहरूको गुणस्तर, विश्वसनीयता र राष्ट्रिय मान्यतालाई सुदृढ बनाएको छ । चिकित्सा शिक्षासंगै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी, आधुनिक र सर्वसुलभ बनाउने दिशामा प्रतिष्ठानले महत्वपूर्ण कदमहरू चालेको रजिष्ट्रार प्रा.डा. विजय कुमार यादवले जानकारी दिए ।
बिरामीहरूको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालमा क्याथ ल्याब र एमआरआई जस्ता अत्याधुनिक सेवाहरू समेत सञ्चालनमा ल्याइएको छ । त्यस्तै अस्पतालको सेवा क्षमता विस्तार गर्ने क्रममा हाडजोर्नी विभागमा ४० शैय्याको छुट्टै वार्ड, न्यूरो सर्जरी सेवा, तथा विशिष्ट बर्न वार्ड सञ्चालनमा ल्याइएको छ ।
आधुनिक प्रयोगशाला सेवा, सूचना प्रविधिको प्रयोग, तथा अस्पताल परिसरको सरसफाइ र सौन्दर्यकरणमा गरिएको सुधारले बिरामीहरूलाई स्वच्छ, सुरक्षित र अनुकूल वातावरणमा उपचार सेवा प्राप्त हुने अवस्था सिर्जना गरेको छ । प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पतालमा सेवा लिने बिरामीहरूको संख्या निरन्तर वृद्धि भइरहेको उनले दाबी गरे । हाल अस्पतालबाट ४० भन्दा बढी विशिष्टीकृत विभागहरू मार्फत स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । आकस्मिक सेवा, आइसीयू, एनआइसीयू, पीआइसीयू, २१ शैय्याको डायलासिस सेवा, तथा अत्याधुनिक दन्त सिबीसीटी सेवालगायतका सुविधाहरूले अस्पतालको सेवा स्तरलाई थप सुदृढ बनाएको छ । हाल अस्पतालमा कुल ३८५ शैय्या सञ्चालनमा रहेको छ । जसमा विभिन्न विभाग अनुसार आवश्यक व्यवस्थापन गरिएको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रम, निःशुल्क औषधि वितरण, टेलिमेडिसिन सेवा, सुरक्षित गर्भपतन सेवा तथा सामाजिक सेवा एकाइ मार्फत विपन्न तथा आवश्यकतामा रहेका नागरिकहरूलाई सहुलियत प्रदान गर्दै आएको छ । सौजन्य जनकपुर टुडे

