थाइल्याण्ड चलिरहेको महिला एशिया कप राइजिङ स्टार्समा आज भएको खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भारतको ‘ए’ टोलीसँग पनि पराजित भएको छ । नेपाल ७ विकेटले पराजित भएको हो । नेपालले जितका लागि दिएको ७९ रनको सामान्य लक्ष्य भारतको ‘ए’ टोलीले ७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ७८ रनमा अलआउट भएको थियो । नेपाल लगातार तीन खेलमा पराजित हुँदै बाहिरिएको छ । समुह ‘ए’ मा नेपालले अङ्क जोड्न सकेन । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टोलीसँग ३० रनले र दोस्रो खेलमा युएईसँग १८ रनले पराजित भएको थियो । एशिया कपमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएकोमा नेपाल रहेको समूहमा ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई तथा समूह ‘बी’ मा आयोजक थाइल्याण्ड, बङगलादेश, मलेसिया र श्रीलङ्का रहेका थिए । सौजन्य जनकपुर टुडे

