धनुषाको उत्तरी क्षेत्रतर्फ वर्षेनी खानेपानीको हाहाकार हुने गर्छ । सुख्खायामबाट खानेपानीको समस्या उत्पन्न भएपछि गर्मीयामसम्म खानेपानीको लागि यहाँका आममानिसको जनजीवन निकै कष्टदायी हुने गर्छ । धनुषाको बटेश्वर गाउँपालिका–४ की गीता साहले १५ वर्षदेखि इनारबाट खानेपानी ओसार्ने गरेकी छिन् । उनले खानेपानीका लागि चापाकलसमेत गाडिन्, तर पानी भने आएन । खानेपानीको जोहो गर्ने छिमेकीको घरमा इनार खन्दा उनले २० हजार रुपैयाँ खर्चिनु परेको छ । नेपालमा कुल भूभागको ४५ प्रतिशत वन क्षेत्र भए पनि जनघनत्व धेरै भएको मधेश प्रदेशमा ३ दशमलव ७२ प्रतिशत मात्र वन क्षेत्र छ ।
जबकि स्वच्छ वातावरणका लागि कुल क्षेत्रफलको कम्तिमा ४० प्रतिशत वनजंगल हुनुपर्छ । यसै कारण तराई–मधेशमा जलसंकटसंगै अन्य वातावरणीय समस्या बढ्दै छन् । पानीको हाहाकार भएपछि गत बर्खामा संघीय र प्रदेश सरकारले मधेशलाई सुक्खा क्षेत्र घोषणा गरेको थियो । चुरे वन संरक्षण र पानी संकट समाधानलाई दलहरूले चुनावका बेला उच्च प्राथमिकतामा रहेको प्रतिबद्धता जनाउँछन् । तर व्यवहारमा भने मधेशको जलसंकट गहिरिएको छ । चुनावमा होमिएका एमाले र कांग्रेसलगायतका दलले आफ्नो चुनावी घोषणापत्रमा मधेशको जलसंकटलाई कसरी समेट्ने छन् भन्ने अहिले यस क्षेत्रमा बहस हुन थालेको छ । तर यी दलका धनुषाका उम्मेदवारहरूले चुरे संरक्षणसंगै खानेपानी र सिचाइँ आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
मधेश प्रदेशको वन मन्त्रालयले जनाए अनुसार मधेशको २ लाख २ हजार २ सय हेक्टर वनले ओगटेको छ । जसमध्ये आठै जिल्लामा राष्ट्रिय, साझेदारी र कबुलियत वनसहित ६ हजार ८ सय ३१ हेक्टर वन क्षेत्र अतिक्रमित छ । चुरे क्षेत्रमा जथाभावी नदी दोहन तथा उत्खनन जारी छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का धनुषा–२ का उम्मेदवार रामचन्द्र झाले आफू स्थानीय विकासमन्त्री हुँदा चुरे क्षेत्रमा भइरहेको जथाभावी दोहनमाथि रोक लगाउने निर्णय गरेको र चुरे संरक्षणका लागि पार्टीको प्रतिबद्धतापत्रमा समेटिएको बताए । जसपा नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सौजन्य जनकपुर टुडे

