वीरगञ्ज । भारतको मध्यप्रदेशस्थित बागेश्वर धाममा महाशिवरात्रिको पावन अवसर पारेर करिब ३०० गरिब तथा असहाय कन्याहरूको भव्य सामूहिक विवाह कार्यक्रम सम्पन्न भएको छ । मन्दिरका शिष्य कन्हैया पटेलका अनुसार यसअघिका वर्षहरू झैँ यस वर्ष पनि भक्तजनले चढाएको दानपेटीको रकमबाट गरिब छोरीहरूको विवाह गराइएको हो । कार्यक्रममा नेपालबाट एक कन्या समेत छनोट भएकी छन् । बागेश्वर धाम सरकारको सामाजिक अभियानअन्तर्गत सञ्चालित सामूहिक विवाह सातौँ संस्करण हो । दानपेटीबाट सङ्कलित रकमलाई सामाजिक कार्यमा लगाउने परम्परा अनुसार हरेक वर्ष गरिब कन्याहरूको विवाह, भन्डारा, गुरुकुल सञ्चालन तथा क्यान्सर अस्पताल निर्माणजस्ता योजनाहरू अघि बढाइँदै आएका छन् ।
यस वर्षको कार्यक्रमका लागि करिब दुई महिनासम्म फारम सङ्कलन गरी घर–घर पुगेर छनोट गरिएको थियो । ४० सदस्यीय टोलीले ३० हजार किलोमिटरको यात्रा गर्दै ३०० कन्या छनोट गरेको थियो । जसमध्ये १०८ जना आदिवासी कन्या थिए । बागेश्वर धामका पिठाधीश्वर धिरेन्द्र कृष्ण शास्त्रीले सबै कन्याहरूको धर्मपिताको भूमिका निर्वाह गर्दै विवाहमा आशीर्वाद दिएका थिए । प्रत्येक जोडीले पूर्ण घरायसी सामग्री, सुन–चाँदीका गरगहना र ३० हजार भारतीय रुपैयाँ नगद प्राप्त गरेका छन् ।
सामूहिक विवाहअघि कलश यात्रा, मङ्गल प्रवेश, मेहन्दी र हल्दी समारोह आयोजना गरिएको थियो । त्यसपछि वरात स्वागत, जयमाला, हवन, सप्तपदी (फेरे) र कन्यादान विधि वैदिक परम्पराअनुसार सम्पन्न भएका थिए । विवाहपछि नव विवाहित जोडीलाई आशीर्वाद दिँदै बिदाइ कार्यक्रम र सबैका लागि विशाल भन्डारा आयोजना गरिएको थियो । समारोहमा ९ देशका राजदूत, विभिन्न देशका साधु–सन्त, कथा वाचक, राजनीतिक नेतृत्व, कलाकार तथा हजारौँ भक्तजनको उपस्थिति रहेको थियो ।
बागेश्वर धाम सरकारले हिन्दुत्व र सनातन धर्मको प्रचार–प्रसारसँगै सामाजिक सेवालाई प्राथमिकता दिँदै आएको छ । आगामी सन् २०२७ भित्र मन्दिर परिसरमै गरिब तथा असहायका लागि निःशुल्क उपचार हुने विश्वकै पहिलो क्यान्सर अस्पताल निर्माण गर्ने योजना रहेको छ । सामूहिक विवाह कार्यक्रमले गरिब छोरीहरूको जीवनमा उज्यालो छ¥यो भने सनातन धर्मको सामाजिक दायित्वलाई पनि जीवन्त बनाएको छ । सौजन्य यात्रा डेली

