प्रतिनिधिसभा चुनावको मतपत्र छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेको ५ लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी ५ लाख मतपत्र आजै बेलुकीसम्म सम्पन्न हने बताउनुभयो । उहाँले प्रत्यक्ष तर्फका २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको ५ लाख मतपत्र छपाइ आज दिनभरमा सक्ने बताउनुभयो ।
भोलिसम्ममा सबै मतपत्र प्याकिङ सके बाँकी जिल्लामा ढुवानी हुने पौडेलले बताउनुभयो । दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ, भने २ करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी जिल्ला जिल्ला पठाउने कार्य भइरहेको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । सौजन्य जनकपुर टुडे

