मलंगवा, ०३ फागुन – मधेशका दुई प्रख्यात अनुहार राजेन्द्र महतो र महिन्द्र राय यादव फेरि एक पटक प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रने भएका छन् । महतो र यादव बारम्बार सांसद बनेर मन्त्री बन्ने भाग्यमानी नेताको सूचीमा पर्छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही २ मा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट महतो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट यादवले उम्मेदवारी दिएका छन् ।
सर्लाही २ मा महतो र यादव पुरानो मुख्य प्रतिस्पर्धी रहँदै अएकोमा यो पटक भने नेपाली कांग्रेसका डा. सरोज कुमारलाई पनि प्रमुख दाबेदार मानिएको छ । यस्तै यस क्षेत्रबाट नेकपा एमालेका नागेश्वर साह र राष्ट्रिय स्वतन्त्र पार्टीका रवीन महतोसहित ३१ जना चुनावी प्रतिस्पर्धामा छन् । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार राजेन्द्र महतोलाई दुई हजार ११ मतले पराजित गरेका थिए । यादवले २३ हजार ५२९ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रस्पिर्धी महतोले २१ हजार ५१८ मत प्राप्त गरेका थिए । आफू अन्तिम पटक उम्मेदवार बनेको बताउँदै २०७९ मा मतदातासँग भोट मागेका निवर्तमान प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादव पुनः यो पटक चुनावी मैदानमा छन् । यादवले आफ्नो निर्वाचन क्षेत्रमा सुरु गरेर अधुरो रहेका काम पुरा गर्न फेरि एक पटक उम्मेदवार बनेको बताए ।
बारम्बार विभिन्न मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हालेका यादव यसअघि २०७४ मा पनि सर्लाही २ बाट भारी मतान्तरले बिजयी भएका थिए । त्यसबेला यादवले २९ हजार १९१ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका जङ्गीलाल रायले १८ हजार ९७६ मत प्राप्त गरेका थिए ।
२०७४ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्षसमेत रहेका राजेन्द्र महतो भने धनुषा गएर नेपाली कांग्रेसका विमलेन्द्र निधीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । महतोले सर्लाही २ मा वर्षौदेखि विकास हुन नसकेकाले अब आफू निर्वाचित भएर मतदाताका माग पुरा गर्ने र रोकिएका विकासको काम अघि बढाउने बताए । नेपाली कांग्रेसका कार्यवाहक जिल्ला सभापतिसमेत रहेका उम्मेदवार डा. सरोज कुमारले पुराना प्रतिनिधिबाट वाक्क भएका सर्लाही २ का मतदाताले नयाँ अनुहार चाहेका बताए । सदरमुकाम मलङ्गवासहित अधिकांश भारतीय सीमावर्ती क्षेत्र पर्ने सर्लाही २ मा एक लाख २५ हजार ३११ मतदाता रहेका छन् ।
सदरमुकाम मलङ्गवा निवासी नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले सर्लाही २ मा सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा व्यापक समस्या र बेथिति रहेको बताए । सदरमुकाम र सदरमुकामसँग जोडिएका क्षेत्र भए पनि सडकको दुरावस्था, शिक्षाको खस्कँदो स्तर, भएका स्वास्थ्य संस्थाको दयनीय अवस्था र किसानले मलखाद नपाउने समस्या व्याप्त रहेकाले अब निर्वाचित हुने प्रतिनिधिले यस्ता कुरामा ध्यान दिनुपर्ने चौधरीको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सर्लाही निर्वाचन क्षेत्र नं. २ मा मलङ्गवा नगरपालिका पुरै (वडा नं. १ देखि १२ सम्म), हरिपुर्वा नगरपालिका पुरै (वडा नं. १ देखि ९ सम्म), पर्सा गाउँपालिका पुरै (वडा नं. १ देखि ६ सम्म), ब्रह्मपुरी गाउँपालिका पुरै (वडा नं. १ देखि ७ सम्म), कौडेना गाउँपालिका पुरै (वडा नं. १ देखि ७ सम्म), ईश्वरपुर नगरपालिका वडा नं. १५, कविलासी नगरपालिका वडा नं. ८, ९ र १०, विष्णु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ पर्छन् । सौजन्य उज्यालो अभियान

