Loktantra Khabar National Weekly
Ad

जेल जानुअघि भावुक बने राजपाल यादव : सहयोगका लागि अघि सरे सोनू सूद

लोकतन्त्र खबर
२९ माघ २०८२

९ करोड भारतीय रुपैयाँको ऋण र चेक बाउन्स प्रकरणमा तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि बलिउड अभिनेता राजपाल यादवले आफ्नो पीडा पोखेका छन् । आफू गम्भीर आर्थिक सङ्कटमा परेको र मद्दत माग्ने कोही नभएको बताएका राजपालका लागि अभिनेता सोनू सूदले सहयोगको हात बढाएका छन् । सोनूले राजपाललाई आफ्नो नयाँ फिल्ममा अनुबन्ध गर्दै केही रकम ’साइनिङ अमाउन्ट’ का रूपमा समेत उपलब्ध गराउने घोषणा गरेका छन् । सोनू सूदले सामाजिक सञ्जालमा लेख्दै राजपाल यादव एक प्रतिभाशाली कलाकार भएको र समयले कहिलेकाहीँ अन्याय गर्ने उल्लेख गरेका छन् । सोनूका अनुसार यो सहयोग दान नभई एक कलाकारको सम्मान र गरिमा हो ।

उनले फिल्म उद्योग एउटा परिवार भएको र अप्ठ्यारोमा परेका सहकर्मीलाई साथ दिनु सबै निर्माता तथा निर्देशकको दायित्व भएको बताएका छन् । सोनूका साथै जेम्स टुन म्युजिकका मालिक राव ईन्द्रजीत सिंह यादवले पनि राजपाललाई १ करोड ११ लाख भारतीय रुपैयाँ आर्थिक सहयोग गर्दै देशवासीलाई पनि साथ दिन अपिल गरेका छन् । सन् २०१० देखिको यो विवाद राजपालले निर्देशन गरेको फिल्म ‘अता पता लापता’ का लागि लिएको ५ करोड ऋणबाट सुरु भएको हो। फिल्म फ्लप भएपछि उनले ऋण तिर्न दिएका चेकहरू बाउन्स भएका थिए । ब्याजसहित उक्त रकम बढेर ९ करोड पुगेको छ । सन् २०१८ मा दिल्लीको अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको थियो। बीचमा केही समय राहत पाए पनि अन्ततः रकम तिर्न नसकेपछि उनले आत्मसमर्पण गरेका हुन् । जेल जानुअघि उनले फिल्म क्षेत्रमा कोही कसैको साथी नहुने र यो लडाइँ आफूले एक्लै लड्नुपर्ने भन्दै निराशा व्यक्त गरेका थिए । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: