Loktantra Khabar National Weekly
Ad

मधेशको विकास नेता होइन बेटा बनेर गर्नेछौं : थापा

लोकतन्त्र खबर
२९ माघ २०८२

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेसको विकास नेता बनेर होइन बेटा (छोरा) बनेर गर्न आएको बताएका छन् । विगतमा मधेसले कांग्रेसलाई धेरै गुण लगाएको स्मरण गर्दै उनले केही कुरामा आफूहरू चुकेको र अब मधेसप्रति पूर्ण समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यकर्ता भेटघाट तथा अन्तरक्रियाका लागि मङ्गलबार सप्तरी पुगेका सभापति थापाले कञ्चनरूप नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको नेतृत्व गर्न मधेसको भावना बुझ्नु अनिवार्य रहेको धारणा राखे । उनले भने, “मधेसको नेतृत्व गरे मात्र देशको नेतृत्व सम्भव छ । कांग्रेस नेतृत्वको सरकारले सिंहदरबारबाट मधेसका मुद्दा सम्बोधन गर्ने गरी काम गर्नेछ ।” देश चलाउन केवल जोस मात्र भएर नपुग्ने भन्दै उनले सुझबुझ, प्रतिज्ञा, करुणा र दया पनि आवश्यक रहेकोमा जोड दिए ।

“नेपाली कांग्रेससँग सपना, सङ्कल्प, जोस र अनुभव छ,” थापाले स्पष्ट पारे । उनले युवाको माग सम्बोधन गर्न कांग्रेस बदलिएर आएको र बदलिएको कांग्रेसले मात्र देश बदल्ने दाबी पनि गरे । संविधानलाई तलमाथि हुन नदिने र संविधानभित्र सबैलाई मिलाएर लैजान कांग्रेस प्रतिबद्ध रहेको बताउँदै उनले मधेस लगायत सबै वर्ग र समुदायको अधिकारलाई थप बलियो बनाउन संविधान संशोधन गरिने प्रतिबद्धता जनाए । त्यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले निर्वाचनपछि बन्ने कांग्रेसको सरकारले भ्रष्टाचारविरुद्ध महासङ्ग्राम सुरु गर्ने दाबी गरे । यो निर्वाचनमा पार्टीले घोषणापत्र नभई संकल्प लिएर आउने जानकारी दिँदै उनले त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

सभापति थापाले सप्तरीको निर्वाचन क्षेत्र नं. १, ३ र ४ अन्तर्गतका विभिन्न स्थानमा कार्यकर्ता भेटघाट गरेका छन् । सो कार्यक्रममा क्षेत्र नं. १ का उम्मेदवार रामदेव साह, क्षेत्र नं. २ का उम्मेदवार रामकुमार यादव, क्षेत्र नं. ३ का उम्मेदवार दिनेश कुमार यादव र क्षेत्र नं. ४ का उम्मेदवार तेजुलाल चौधरी लगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: