राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन साह)ले मधेश प्रदेशमा मंगलबारदेखि चुनाव प्रचार गर्ने भएको छ । समयाभावको कारण बालेनले सप्तरी जिल्लाबाट ‘रोड शो’ गरी प्रचारको प्रारम्भ गर्न उनी बिहान सप्तरी पुग्ने भएका छन् । माघ ५ गते तिरहुतिया गाछीमा पहिलो पटक सम्बोधन गरेर परिवर्तनको सन्देश दिएका बालेनले देशभरि चुनावी दौडहा गरिरहेका छन् ।त्यस क्रममा नै मधेश प्रदेशको जिल्ला दौडहामा उनी आउन लागेका छन् । झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका बालेन साहले सोमबार आफ्नै निर्वाचन क्षेत्रमा प्रचार गरेका थिए । रास्वपाका नेताहरुका अनुसार उनी राती इटहरीमा बास बसेर बिहानदेखि सप्तरीमा रोड शो गर्ने छन् । साहले सप्तरी जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा ‘रोड शो’ गरी सिरहामा कार्यक्रम गर्ने बताइएको छ ।
बालेनले सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ लाई प्राथमिकतामा राखेर ‘रोड शो’ गर्ने छन् । सिरहाको निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री बब्लु गुप्ता र निर्वाचन क्षेत्र नम्बर २ बाट शिवशंकर यादव रास्वपाबाट उम्मेदवार छन् । जेन– जी आन्दोलनमा अग्रणि भूमिका निर्वाह गरेका यादवप्रति क्षेत्रमा सहानुभुति रहेको बताइन्छ । निर्वाचन क्षेत्र नम्बर २ मा शिव यादवले प्रचार प्रसारको क्रममा अग्रता लिएको छ । त्यस क्षेत्रबाट निर्वाचित सांसद राजकिशोर यादव सिरहा जिल्लाकै निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन् । यादवले सिट छाडेपछि मतदाताहरुले परिवर्तन चाहेको बताइन्छ । एमालेको तर्फबाट नविन यादव प्रतिस्पर्धा गरिरहेका छन् ।
बालेनको प्रभावले मतदातामा रास्वपाप्रति सकारात्मक सन्देश प्रवाह हुने बताइन्छ । रास्वपाको प्रचारमा खटेका पत्रकार सन्तोष यादवले जनाए अनुसार बालेनको तस्बिरसंग उम्मेदवारको तस्बीरले नै हलचल मचाएको छ ।‘बालेनलाई हेर्न मतदाताहरु आतुर छन्’ उनले भने, अनुहार समेत नहेरी ‘अबकी बार ,बालेन सरकार’को नारा जनजनबाट घन्किन थालेको छ । निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस सिरहाका सभापति समेत रहेका रामचन्द्र यादव र रास्वपाका उम्मेदवार शिव यादवबीच प्रतिष्पर्धा रहेको छ । गत निर्वाचनमा पनि नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादव निकटतम् प्रतिद्वन्द्वी रहेकी थिइन् । निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामसुन्दर चौधरी र रास्वपाका बब्लु महतोबीच प्रतिस्पर्धा हुने बताइएको छ । सो क्षेत्रमा विगतमा नेकाँ र एमालेबीच नै प्रतिस्पर्धा हुने गरेको थियो । एमालेले रामशंकर यादवलाई उम्मेदवार बनाएको छ । ‘रोड शो’को क्रममा रास्वपाका वरिष्ठ नेता बालेन सम्बोधन नगर्ने बताइएको छ । लहानबाट प्रारम्भ हुने ‘रोड शो’ ४ वटै क्षेत्रमा पुग्ने गरी मार्ग निर्धारण गरिएको पत्रकार यादवले बताए ।
चुनाव प्रचार समितिको कार्यालय रहेको स्थानमा केही समय रोकेर सामान्य भलाकुसारी गर्दै अगाडी बढदै जाने उनले बताए । उनी साँझ सम्म सिरहामा नै शो गर्ने बताइएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बालेनले बुधबार ‘रोड शो’ गर्ने छन् । त्यसका लागि उनी मंगलबार नै जनकपुरधाम आउने मधेश प्रदेश रैट विभागका प्रमुख अम्भुप्रसाद साहले जनाएका छन् । ‘बुधवार बिहानदेखि साहको रोड शो जनकपुरधामबाट प्रारम्भ हुनेछ’ उनले भने, प्रचार कार्यालयमा गाडी रोकेर घण्टी बजाउने बाहेक सम्बोधन अथवा भेंटघाटको कार्यक्रम रहेको छैन । साहले धनुषा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा ‘रोड शो’ गर्ने उनले जनाए । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिसित प्रतिस्पर्धा रहेको बताउँदै साहले भने, तिर हुतिया गाछीमा बालेनको गर्जनले देशकै राजनीति तरंगित बनेकाले उनी वडा स्तरसम्म पुग्दा जित सुनिश्चित नै हुनेछ । सौजन्य जनकपुर टुडे

