Loktantra Khabar National Weekly
Ad

मलंगवामा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

लोकतन्त्र खबर
२६ माघ २०८२

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिकामा दादुरा विरुद्ध सञ्चालन गरिएको खोप अभियानमा लक्ष्यभन्दा बढी बालबालिकाले खोप पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दादुरा संक्रमण देखिएका वडाहरूमा अनुमानभन्दा धेरै बालबालिकालाई खोप लगाइएको हो। स्वास्थ्य सेवा विभाग अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका अनुसार मलंगवा नगरपालिका–२, ३, ४, ८, ९ र १० नम्बर वडामा लक्षित संख्याभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप दिइएको हो। ती वडाहरूमा करिब १० हजार ३२ जना बालबालिकालाई खोप लगाइएको छ।

दादुरा फैलिएको क्षेत्रमा सुरुमा ७ हजार ५१९ बालबालिकालाई खोप दिने लक्ष्य लिइएको थियो। तर, वास्तविक अवस्थाको मूल्यांकन गर्दा अनुमानभन्दा धेरै बालबालिका रहेको पाइएकाले लक्ष्य संशोधन गरी २ हजार ४५२ जना बढी बालबालिकालाई खोप दिइएको हो। दादुरा संक्रमण देखिएका वडाहरूमा छ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइएको छ। हालसम्म सो क्षेत्रमा सात जनामा दादुरा संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या कम रहे पनि रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रभावित वडासँग जोडिएका आसपासका वडाहरूमा समेत खोप अभियान विस्तार गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । सौजन्य धड्कन एफ.एम.

 

प्रतिक्रिया दिनुहोस्: