मलंगवा, २४ फागुन – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा २६ वटा राजनैतिक दलले उम्मेद्वार खडा गराएका छन् । पछिल्लो समय निर्वाचन आयोगमा १३७ वटा राजनैतिक दल दर्ता भएपनि सर्लाहीमा भने २६ वटा दलबाट मात्र उम्मेद्वारी परेको छ । सर्लाहीस्थित मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालयहरुले प्रकाशित गरेको उम्मेद्वारहरुको अन्तिम नामावली अनुसार सर्लाहीका ४ निर्वाचन क्षेत्रमा ९ वटा राजनैतिक दलबाट मात्र उम्मेद्वारी परेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनमत पार्टीले ४ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार खडा गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टी, आम जनता पार्टी र बहुजन एकता पार्टीबाट ३ वटा क्षेत्रमा मात्र उम्मेद्वारी परेको छ । उज्यालोबाट क्षेत्र नं. १, ३ र ४ मा उम्मेद्वार छन् ।
आम जनता पार्टीले क्षेत्र नं. १, २ र ४ मा तथा बहुजनले क्षेत्र नं. १, ३ र ४ मा उम्मेद्वारी दिएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टी र मंगोल नेशनल अर्गनाइजेशनबाट २ वटा क्षेत्रमा उम्मेद्वार खडा भएका छन् । यी दुवै दलबाट क्षेत्र नं. १ र ३ मात्र उम्मेद्वारी परेको हो । १२ वटा राजनैतिक दलबाट एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेद्वारी परेको छ । क्षेत्र नं. १ मा मात्र उम्मेद्वार खडा गर्ने दलहरुमा नेपाल जनता पार्टी, नेपाल जनता संरक्षण पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्र निर्माण दल नेपाल रहेका छन् । त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, नेपालका लागि नेपाली पार्टी र युनाइटेड नेपाल डिमोक्रयाटिक पार्टीबाट क्षेत्र नं. २ मा मात्र उम्मेद्वारी परेको छ भने क्षेत्र नं. ३ मा मात्र उम्मेद्वार खडा गर्ने दलमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रहेको छ ।
क्षेत्र नं. ४ मा मात्र उम्मेद्वार पर्नेमा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) रहेको छ । सर्लाहीमा राजनैतिक दलबाट ६१ र स्वतन्त्र ७१ गरि जम्मा १३२ जनाको उम्मेद्वारी कायम भएको छ । जस अन्तर्गत क्षेत्र नं. १ मा दलका १९ एवं स्वतन्त्र ९, क्षेत्र नं. २ मा दलका १४ एवं स्वतन्त्र १७, क्षेत्र नं. ३ मा दलका १५ एवं स्वतन्त्र १९ र क्षेत्र नं. ४ मा दलका १३ एवं स्वतन्त्र २६ उम्मेद्वार रहेका छन् । सौजन्य उज्यालो अभियान

