Loktantra Khabar National Weekly
Ad

मधेश प्रदेशमै पहिलो पटक प्रदेशस्तरीय रंगरोगन तथा चित्रकला प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न

लोकतन्त्र खबर
२४ माघ २०८२

वीरगञ्ज । कस्मोस शैक्षिक प्रशिक्षण तथा अनुसन्धान केन्द्र, काठमाडौंको आयोजनामा सम्पन्न “प्रदेशस्तरीय रंगरोगन तथा चित्रकला प्रतियोगिता–२०८२” मधेश प्रदेशमा पहिलो पटक भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम चरण रौतहट जिल्लाको चापुरमा आयोजना गरिएको थियो ।

अन्तिम चरणको कार्यक्रममा मधेश प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रमका समन्वयक प्रबिन ढुंगाना रहनु भएको थियो भने शिक्षाविद् तथा कला विज्ञ विष्णु सापकोटाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणमा मधेश प्रदेशका आठै जिल्लाका विभिन्न विद्यालयबाट करिब ४० हजार विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालय–विद्यालयमै सञ्चालन गरिएको पहिलो चरणबाट ४ हजार २३५ विद्यार्थी क्वार्टर फाइनलमा छनोट भएका थिए। तीमध्ये ७५० विद्यार्थी सेमिफाइनलमा प्रवेश गरेका थिए भने अन्ततः १०५ विद्यार्थी फाइनल चरणमा प्रतिस्पर्धा गर्न सफल भएका थिए ।

फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरूलाई ट्रफी प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ। गद पुरस्कारतर्फ प्रथम हुनेले २० हजार रुपैयाँ, द्वितीयले १५ हजार, तृतीयले १० हजार तथा चौथो (सान्त्वना) स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ प्राप्त गरेका थिए। उक्त प्रतियोगितामा बारा र पर्सा जिल्लाका ९७ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। मधेश प्रदेशस्तरीय यस प्रतिष्ठित प्रतियोगितामा वीरगञ्जका विद्यार्थीहरूले पनि उल्लेखनीय सफलता हात पार्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।

विभिन्न कक्षातर्फ विजयी हुने वीरगञ्जका विद्यार्थीहरू यसप्रकार छन्– ीप्न् तर्फ चौथो स्थानमा डल्फिन एकेडेमीकी श्रृष्टि सर्राफ, ग्प्न् तर्फ द्वितीय स्थानमा नेपाल कावेरी एकेडेमीका आरिज जिन्नत, कक्षा १ तर्फ तृतीय स्थानमा सेन्ट जोन स्कुलका आयुष कुमार यादव, कक्षा २ तर्फ प्रथम स्थानमा गौतम स्कुलकी प्रियाल तिवारी, कक्षा ३ तर्फ चौथो स्थानमा साउथजोन स्कुलकी विद्या पटेल, कक्षा ४ तर्फ द्वितीय स्थानमा गुरुकुल एकेडेमीकी अनिशा अख्तर, र कक्षा ५ तर्फ प्रथम स्थानमा गौतम स्कुलकी नन्दनी कुमारी मलाह रहेका छन् ।

आयोजक समितिले मधेश प्रदेशमा पहिलो पटक यस किसिमको प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै यसअघि अन्य प्रदेशहरूमा हस्तलेखन तथा कला प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ। यस्ता शैक्षिक तथा सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूमा लुकेको प्रतिभा पहिचान र उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ । वीरगञ्जका विद्यार्थीहरूको यस सफलताले अभिभावक, शिक्षक तथा विद्यालय परिवारमा उत्साह र गर्वको भावना थपिएको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: