Loktantra Khabar National Weekly
Ad

सनीको ‘बोर्डर २’ को कमाइ ४०० करोड पार गर्दा रानीको ‘मर्दानी ३’ सुस्त

लोकतन्त्र खबर
२४ माघ २०८२

मुम्बई । बलिउड अभिनेता सनी देओलको बहुप्रतिक्षित चलचित्र ‘बोर्डर २’ ले सिनेमाघरमा धमाका मच्चाइरहेको छ। प्रदर्शनको १४ औँ दिनसम्म आइपुग्दा पनि यो चलचित्रको क्रेजमा कुनै कमी आएको छैन ।
दर्शकले सामाजिक सञ्जालमा फिल्मको निकै तारिफ गरिरहेका छन् भने बक्स अफिसमा यसले नयाँ रेकर्ड कायम गरेको छ। १४ दिनको छोटो अवधिमै बोर्डर २ ले विश्वभरबाट ४०० करोड भारुको आँकडा पार गर्दै यो वर्षकै सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा आफ्नो नाम सुरक्षित गरेको छ। रिपोर्टअनुसार बोर्डर २ ले १४ औँ दिनमा मात्रै ३.३५ करोड भारुको व्यापार गरेको छ। भारतमा मात्रै यो चलचित्रले अहिलेसम्म २९४.२५ करोड भारु सङ्कलन गरिसकेको छ भने विश्वव्यापी रूपमा यसको कलेक्सन ४०२.५ करोड पुगेको छ। सनी देओलसँगै दिलजीत दोसांझ, वरुण धवन र अहान शेट्टीको मुख्य भूमिका रहेको यस चलचित्रले दर्शकलाई हलसम्म तान्न सफल भइरहेको छ।

अर्कोतर्फ रानी मुखर्जीको सशक्त अभिनय रहेको मर्दानी ३ को व्यापार भने निकै सुस्त देखिएको छ। प्रदर्शनको सातौँ दिनमा फिल्मले मात्र १.८५ करोडको कमाइ गरेको छ । भारतमा अहिलेसम्म यस चलचित्रले २६.३० करोड भारु मात्र जोड्न सकेको छ भने विश्वभर ३९ करोडको व्यापार गरेको छ। रानी मुखर्जीको अभिनयको प्रशंसा भए तापनि व्यापारिक हिसाबले फिल्मले सोचेजस्तो रफ्तार लिन सकेको छैन। यद्यपि, आउँदो साताको अन्त्यमा यसको व्यापारमा केही सुधार हुने अपेक्षा गरिएको छ ।
बोर्डर २ मा सोनम बाजवा, मोना सिंह जस्ता कलाकारहरूको समेत अभिनय रहेको छ भने मर्दानी ३ मा रानीको अपोजिट मल्लिका प्रसाद भिलेनको भूमिकामा देखिएकी छिन् । सौजन्य रातोपाटी

प्रतिक्रिया दिनुहोस्: