बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । आज मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू समेत गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेस गरेको अस्थायी सङ्गठन संरचना स्वीकृत गरेको छ भने आर्थिक वर्ष २०८२–०८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पेस भएको ज्ञान व्यवस्थापन तथा संस्थागत स्मृति हस्तान्तरण सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
त्यस्तै, वन तथा वातावरण मन्त्रालयले पेस गरेको प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ । साथै बैठकले प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ पनि स्वीकृत गरेको छ । सौजन्य रातोपाटी

