वीरगञ्ज। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा विभिन्न दलका तथा स्वतन्त्र गरी २३ जना उम्मेदवार मतदाताको विश्वास जित्ने प्रयासमा छन्। यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) को संगठनात्मक संरचना तथा संगठित मत अन्य दलको तुलनामा बलियो रहेकाले मुख्य प्रतिस्पर्धा यिनै दुई दलबीच हुने आकलन गरिएको छ ।
आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसले सुरेन्द्र प्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) ले रुपेश कुमार पाण्डेयलाई मैदानमा उतारेको छ। यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट छोटेलाल प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रामाकान्त प्रसाद चौरसिया, राप्रपाबाट नवीन कुमार सिंह उम्मेदवार बनेका छन्। रास्वपाका उम्मेदवार चौरसिया पूर्वनेपाली कांग्रेस पृष्ठभूमिका नेता हुन्। कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका चौरसियाले कांग्रेसकै मत तान्न सक्ने सम्भावना देखिएकाले कांग्रेस उम्मेदवार चौधरीका लागि एमालेसँगको प्रतिस्पर्धाभन्दा पहिला आफ्नै मत जोगाउनु चुनौतीपूर्ण देखिएको छ। यसैगरी जनता समाजवादी पार्टीबाट नागेन्द्र प्रसाद यादव, उज्यालो नेपाल पार्टीबाट रामरुप प्रसाद साह र जनमत पार्टीबाट मालती कुमारी कुशवाहा उम्मेदवार रहेका छन्। अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उल्लेख्य लहर सिर्जना गर्न सकेको अवस्था भने देखिँदैन ।
अघिल्लो निर्वाचनको नतिजा
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा (एमाले) का राजकुमार गुप्ता २४ हजार ३१९ मतसहित निर्वाचित भएका थिए। माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको गठबन्धनका बाबजुद नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी २४ हजार १०५ मतमा सीमित रहँदै पराजित भएका थिए । रास्वपाका उम्मेदवार अशोक कडेलले प्रत्यक्षतर्फ ९२३ मत मात्र प्राप्त गरेका थिए ।
यस पटकको समीकरण
यस निर्वाचनमा रास्वपाको प्रभाव अघिल्लो निर्वाचनको तुलनामा उल्लेख्य रूपमा बढेको देखिन्छ । यद्यपि, अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ न्यून मत पाएकाले व्यापक लहर हुँदाहुँदै पनि नतिजा आफ्नो पक्षमा पार्न रास्वपाले कडा संघर्ष गर्नुपर्ने देखिन्छ। कांग्रेस उम्मेदवार चौधरी अनुभवी र पुराना नेता भए पनि अघिल्ला निर्वाचनमा कमजोर सफलता दर तथा पार्टीभित्रको आन्तरिक कलह र गुटगत राजनीतिले उनलाई चुनौती थपेको छ ।
एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेय भने तुलनात्मक रूपमा युवा नेता हुन्। बलियो संगठनको आधारमा निर्वाचन जित्ने रणनीतिमा रहेका पाण्डेयले कृषि आधुनिकीकरण, गुणस्तरीय मल र बिउको उपलब्धता, आधुनिक कृषि तालिम तथा व्यावसायिक खेती प्रवद्र्धनलाई प्रमुख एजेन्डा बनाएका छन्। स्वास्थ्य क्षेत्रमा वडास्तरका स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउने, पोखरिया जिल्ला अस्पतालको सुदृढीकरण र डिजिटल स्वास्थ्य प्रणाली विकास गर्ने योजना उनले अघि सारेका छन् । शिक्षा क्षेत्रमा गुणस्तरीय र सिपमूलक शिक्षामा जोड, विद्यालय सरसफाइ, शिक्षक–अभिभावक–विद्यार्थी अन्तरक्रिया, अतिरिक्त क्रियाकलाप तथा रोजगारी र उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम उनका अन्य प्रमुख प्रतिबद्धता हुन् ।
पूर्वाधार विकास अन्तर्गत सडक, पुल, ढल र बिजुली निर्माण तथा विकासका कार्यमा पारदर्शिता, गुणस्तर र समयपालनलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ। पाण्डेयले भनेका छन्, “मतदाताका समस्या संसद् र नीति निर्माण तहसम्म पु¥याउँदै सार्वजनिक सुनुवाइ र निरन्तर संवादमार्फत जवाफदेही प्रणाली विकास गर्ने प्रतिबद्धता गरेको छु।” उता, कांग्रेस उम्मेदवार चौधरीले आफ्नो लामो राजनीतिक अनुभवका आधारमा पर्सा जिल्ला, विशेषगरी क्षेत्र नम्बर–३ का समस्या नजिकबाट बुझेको दाबी गर्दै समाधानमा सशक्त भूमिका खेल्ने बताएका छन्। यद्यपि, उनका लागि सबैभन्दा ठूलो चुनौती पार्टीको संगठित मत जोगाउनु नै देखिएको छ । सौजन्य यात्रा डेली

