Loktantra Khabar National Weekly
Ad

युवा शक्तिको सही उपयोग गर्नुपर्नेमा नेता यादवको जोड

लोकतन्त्र खबर
२२ माघ २०८२

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप यादवले युवाको शक्ति र सोचले देशलाई प्रतिगमनमा धकेल्नबाट रोक्न सक्ने भएकाले उनको सही उपयोग गर्ने बताएका छन् । पर्सा क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार समेत रहेका यादवले चुनावी प्रचार प्रसारको क्रममा आयोजित भेलामा यस्तो बताएका हुन् । पछिल्लो समय जेनजीको नाममा भ्रम फैलाएर युवालाई गलत दिशामा लैजाने प्रयास भइरहेको उनको भनाइ थियो । ‘जेनजीको नाममा युवालाई भ्रममा पार्ने काम भइरहेको छ । तर युवा वर्ग विकास, रोजगारी र राष्ट्र निर्माणमा जोडिन चाहन्छन् ।

एमालेले युवाको शक्ति र सोचलाई सही दिशामा उपयोग गर्नेछ,’ यादवले भने । यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मुलुकको नेतृत्व एमालेले गर्ने दाबी गर्दै जनताको स्पष्ट मत आएपछि एमाले नेतृत्वमा स्थिर र विकासमुखी सरकार गठन हुने विश्वास व्यक्त गरे । उनले देशको समग्र विकास, सुशासन र रोजगारी सिर्जनाका लागि एमाले नेतृत्व लिन पूर्ण रूपमा तयार रहेको समेत बताए ।

‘देश अहिले निर्णायक मोडमा छ । जनताले अब स्थिर सरकार, बलियो नेतृत्व र विकास चाहेका छन् । आगामी निर्वाचनपछि नेकपा एमालेकै नेतृत्वमा सरकार बन्नेछ र जनताको अपेक्षाअनुसार काम गरिनेछ,’ उनले भने । यादवले आफ्नो निर्वाचन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता जनाए । उनले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस योजना अघि बढाइने बताउँदै वीरगञ्ज र आसपासका ग्रामीण क्षेत्रलाई समेटेर समावेशी विकास गरिने बताए । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: