मुम्बई । मुम्बईको जुहूस्थित चर्चित फिल्म निर्देशक रोहित शेट्टीको निवासबाहिर शनिबार अबेर राति गोली प्रहार भएको छ। नौ तले भवनको पहिलो तलामा राति करिब १२ः४५ बजे आक्रमणकारीहरूले कम्तीमा पाँच राउन्ड गोली चलाएका हुन्।
प्रहार गरिएकोमध्ये एउटा गोली भवनभित्र रहेको जिमको सिसामा लागेको प्रहरीले जनाएको छ। घटना लगत्तै सक्रिय भएको पुणे प्रहरीले आइतबार यस मामलामा संलग्न भएको आशङ्कामा चार जनालाई हिरासतमा लिएको छ। यस आक्रमणको जिम्मेवारी कुख्यात लरेन्स बिश्नोई ग्याङले लिएको छ। सामाजिक सञ्जाल फेसबुकमा ’शुभम लोन्कर आरजु बिश्नोई’ नामक एकाउन्टबाट एउटा पोस्ट सार्वजनिक गर्दै ग्याङले यो घटनाको जिम्मा लिएको हो। पोस्टमा यसलाई ’सानो ट्रेलर’ मात्र भन्दै चेतावनी दिइएको छ। ‘अर्को पटक घरबाहिर होइन, उसको बेडरुमभित्र छिरेर छातीमा गोली हान्नेछौँ,’ पोस्टमा लेखिएको छ। यसअघि पटक–पटक सन्देश पठाउँदा पनि आफ्नो काममा दखल दिएकाले शेट्टीलाई निशाना बनाएको उनीहरूको दाबी छ।
बलिउडलाई खुला चेतावनी र सुरक्षामा कडाइ बिश्नोई ग्याङले रोहित शेट्टीलाई मात्र नभई समग्र बलिउडलाई नै चेतावनी दिएको छ। समयमै नसुध्रिए राष्ट्रवादी कांग्रेस पार्टीका नेता बाबा सिद्दीकीको भन्दा पनि नराम्रो हाल बनाइदिने धम्की उनीहरूले दिएका छन्। शुभम लोन्कर बाबा सिद्दीकी हत्याकाण्डको मुख्य योजनाकारमध्ये एक हुन्। यो घटनापछि जुहू क्षेत्रमा रोहित शेट्टीको घर आसपासको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ र थप सुरक्षा बल तैनाथ गरिएको छ। यसअघि पनि लरेन्स बिश्नोई ग्याङले कमेडियन कपिल शर्माको क्यानडास्थित क्याफेमा तीन पटक गोली प्रहार गरिसकेको छ। बलिउडका हस्तीहरूलाई लगातार धम्की र आक्रमणको निशाना बनाउन थालेपछि मुम्बईमा त्रासको वातावरण सिर्जना भएको छ। प्रहरीले अहिले सोसल मिडिया पोस्टको प्राविधिक पक्ष र हिरासतमा लिइएका व्यक्तिहरूको बयानका आधारमा थप अनुसन्धान अगाडि बढाइरहेको छ । सौजन्य यात्रा डेली

