Loktantra Khabar National Weekly
Ad

कसलाई भोट हाल्छौ ?’ सोध्नेलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको कडा चेतावनी

लोकतन्त्र खबर
२१ माघ २०८२

बारा । निर्वाचन नजिकिँदै जाँदा मतदाताको गोपनीयता उल्लंघन गर्ने गतिविधि बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले कडा चेतावनी दिएको छ। जिल्ला प्रशासनका अनुसार फेसबुक, युट्युब तथा अन्य सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यम प्रयोग गरी सर्वसाधारण तथा मतदातासँग “कुन दल वा उम्मेदवारलाई मतदान गर्नुहुन्छ ?” भन्ने प्रश्न सोध्ने, मतदाताको धारणा सार्वजनिक गर्ने तथा गोपनीयता भंग गर्ने गतिविधिहरू बढ्दै गएको पाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत छविरमण भट्टराईले यस्ता गतिविधि निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) को प्रतिकूल रहेको स्पष्ट पारे। उनले मतदाताको व्यक्तिगत मताधिकार र गोपनीयता भंग हुने कुनै पनि कार्य कानुनतः दण्डनीय हुने बताए। भट्टराईका अनुसार यस प्रकारका अनलाइन सर्वे, प्रश्नोत्तर कार्यक्रम, प्रचारात्मक सामग्री वा अभिव्यक्ति सार्वजनिक गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइनेछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन उनले सञ्चार माध्यम, राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न आग्रह गरे। निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने कुनै पनि गतिविधि सह्य नहुने उनको भनाइ छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: