Loktantra Khabar National Weekly
Ad

स्थानीय युवा भन्छन्, “पैसा र पहुँचको बलमा चुनाव लडिरहेकी नक्कली जेन–जी उम्मेदवार रीमाकुमारी यादवलाई बहिष्कार गर्छौँ”

लोकतन्त्र खबर
२० माघ २०८२

वीरगञ्ज । नेपाली राजनीतिमा पछिल्लो समय ‘जेन–जी’ शब्द परिवर्तन र पुस्तान्तरणको प्रतीकजस्तै बनेको छ । तर यही शब्दलाई केही नेताहरूले वास्तविक विचार र प्रतिबद्धताभन्दा पनि राजनीतिक ब्रान्डिङ का रूपमा प्रयोग गर्न थालेको आरोप चर्किँदै गएको छ ।

यही सन्दर्भमा नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रीमाकुमारी यादव विवादको घेरामा परेकी छन् । स्थानीय तहमा उनलाई जेन–जीको प्रतिनिधि नभएर राजनीति नबुझ्ने, एजेन्डाविहीन र सतही उम्मेदवार का रूपमा चित्रण गरिँदै आएको छ ।

स्थानीय युवाहरूका अनुसार जेन–जी आन्दोलन सडकमा प्रश्न उठाएर, पुराना राजनीतिक प्रवृत्तिविरुद्ध उभिएर र स्पष्ट मुद्दा बोकेर जन्मिएको हो । तर उम्मेदवार यादवको गतिविधिले यो आन्दोलनलाई केवल नाम र प्रचारका लागि प्रयोग गरिएको अनुभूति दिएको उनीहरूको भनाइ छ ।

अर्कतर्फ यादवले राजनीतिक र सामाजिक योगदानका आधारमा नभएर पहुँच र पैसाको बलमा टिकट पाएको आरोप स्थानीयस्तरमै लाग्न थालेको छ । यादवको जनताबिच कुनै लगानी पनि नरहेको स्थानीयहरूको आरोप छ ।

“जेन–जी भनेको सोच र दृष्टिकोण हो, उमेर मात्र होइन,” एक स्थानीय युवाले भने, “तर उहाँसँग शिक्षा, रोजगारी, सुशासन वा पारदर्शिताजस्ता मुद्दामा कुनै स्पष्ट एजेन्डा छैन । आफ्नै क्षेत्रका समस्या समेत राम्रोसँग थाहा नभएको देखिन्छ ।”

नीति र कार्यक्रमभन्दा फोटो सेसन, नारा र प्रचारमा सीमित उम्मेदवारीले आजका सचेत युवालाई प्रभावित गर्न नसक्ने स्थानीयहरूको ठहर छ । यही कारण पर्सा–२ मा ‘नक्कली जेन–जी’ को बहिष्कार गर्ने योजना समेत बनिसकेको चर्चा चल्न थालेको छ ।

राजनीति निरन्तरता, प्रतिबद्धता र जनतासँगको सम्बन्धबाट निर्माण हुने प्रक्रिया हो । तर पहुँच र पैसाको भरमा उम्मेदवार बनेर निर्वाचन जित्ने दाउ दीर्घकालीन नहुने स्थानीयहरूको विश्वास छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: