जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सप्तरी ३ का उम्मेदवार उपेन्द्र यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीबाट मात्रै देशमा स्थिर शासन स्थापित गर्न सक्ने बताएका छन् ।
आइतबार चुनावी अभियानको क्रममा उनले जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा स्थिर, बलियो र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सक्ने भएकाले जसपा नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वमा आधारित संसदीय संरचनाको पक्षमा अडिग रहेको बताए ।
चुनाव प्रचारप्रसारमा निरन्तर खटिरहेएका अध्यक्ष यादवले भने, ‘बारम्बार सरकार फेरिने, मन्त्रीहरू बदलिने र नीति तथा योजना अलपत्र पर्ने अवस्था अब सह्य छैन । देशलाई स्थिर, जवाफदेही र जनउत्तरदायी शासन प्रणालीको खाँचो छ । त्यसका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य भइसकेको छ ।’ संसदीय अभ्यासमा गठबन्धन सरकारहरूको अस्थिरताले विकास निर्माण, सुशासन र आर्थिक सुधारलाई गम्भीर असर पारेको छ ।
पाँच वर्षे कार्यकाल पूरा गर्न नसक्ने सरकारहरू, सत्ताको जोडघटाउमा अल्झिने राजनीति र नीतिगत निरन्तरताको अभावकै कारण जनतामा गहिरो निराशा बढेको उनले जिकिर गरे । उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले शासनलाई स्थिर बनाउने मात्र होइन, जनताप्रति प्रत्यक्ष उत्तरदायी पनि बनाउछ । राष्ट्रपति जनताले सिधै चुन्ने भएपछि शक्तिको स्रोत पार्टी होइन, जनता नै हुन्छन् ।
जनताले चुनेको राष्ट्रपतिको पहिलो उत्तरदायित्व जनताप्रति हुन्छ, सरकार टिकाउन सत्ता–सम्झौताप्रति होइन ।’ जसपा नेपालले प्रस्ताव गरेको प्रणालीमा संसद् पूर्ण रूपमा समानुपातिक र समावेशी प्रतिनिधित्वमा आधारित हुने, यसले गर्दा मधेशी, आदिवासी जनजाति, दलित, महिला, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा सीमान्तकृत समुदायको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्ने उनले विश्वास व्यक्त गरे ।
शासन व्यवस्थाकै त्रुटिले गर्दा विगतमा दर्जनौँ सरकार परिवर्तन भएको स्मरण गर्दै उनले भने, ‘तीमध्ये धेरै सरकारले एक वर्ष पनि पूरा गर्न नसकेको धेरै उदाहरण छन्, यसले अर्थतन्त्र, लगानीको वातावरण र प्रशासनिक स्थायित्वमा नकारात्मक प्रभाव पारेको छ । नीति बन्यो, सरकार फेरियो, त्यही नीति अलपत्र पयो । यही चक्र दोहोरिँदा जनताले के पाए ?’ सौजन्य जनकपुर टुडे

