आसन्न प्रतिनिधि सभाको चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र र दल गरी ३७ जना उम्मेदवार मैदानमा छन् । दलगत रुपमा १३ जना र स्वतन्त्रबाट २४ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालयको सूचनाबाट देखिन्छ ।
कांग्रेसबाट निवर्तमान सह–महामन्त्री महेन्द यादव, एमालेबाट पार्टीका उपमहासचिव रघुवीर महासेठ, रास्वपाबाट राजकिशोर महतो, जसपा नेपालबाट ई. कृष्णचन्द साह, नेकपाबाट संजय कुमार महतो र जनमत पार्टीबाट इन्द्रजीत कुमार यादव दलगत उम्मेदवार छन् । २४ जना स्वतन्त्र उम्मेदवार मध्ये अधिकांश डमी रहेका छन् ।
प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले सवारीसाधन, मतदान र मतगणना प्रतिनिधिलगायतको सुविधा स्वतन्त्र उम्मेदवारबाट प्राप्त गर्ने छन् । त्यसका लागि नै मधेशमा स्वतन्त्र उम्मेदवारको संख्या अत्यधिक हुने गरेको छ । धनुषा– ४ मा गत चुनावमा एमालेका महासेठ र कांग्रेसका यादवबीच कडा प्रतिस्पर्धा भएको थियो ।
१ सय २४ झिनो मतान्तरले महासेठले जीत निकालेका थिए । कांग्रेसका यादव र एमालेका महासेठ फेरि चुनावी मैदानमा आमने सामने छन् । प्रतिस्पर्धा पनि यी दुई नेताबीच नै रहने सम्भावना छ । रास्वपाको बालेन कार्ड क्षेत्र नम्बर ४ मा पनि चल्ने छ । सो पार्टीका उम्मेदवार राजकिशोर महतो क र ख दुवै तर्फ लोकप्रियता बढाउँदै गएको छ ।
‘बालेनलाई प्रधानमन्त्री बनाउन हामी घण्टी छापमा मतदान गर्ने निर्णय गरेका छौ’ जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १९ का मतदाता शत्रुधन साहले भने, विगतको हरेक चुनावमा एमालेलाई मत हालियो, यस पटक बालेनको घण्टीमा मतदान गर्नेछौ । सो क्षेत्रको ‘क’ ठेठ मधेश र ‘ख’मा मिश्रित मतदाता रहेका छन् । दुवै तर्फ बलियो संगठन भएको कांग्रेस पार्टी नै हो । तर प्रतिस्पर्धी दल नेकपा एमाले रहेको छ ।
विगतको चुनावमा कांग्रेसको अन्तरघातले महासेठ जित्ने गरेको एमालेबाट कांग्रेसमा फिरेका सन्तोष यादव बताउँछन् । ‘संगठन कांग्रेसको बलियो रहे पनि आन्तरिक असन्तुष्टिको फाइदा महासेठले लिने गर्थे’ उनले भने, यस पटक कांग्रेसमा असन्तुष्टि नरहेको र जित्ने जोशका साथ नेता, कार्यकर्ता होमिएका छन् । जनता समाजवादी पार्टी(जसपा) नेपालका उम्मेदवार ई.कृष्णचन्द्र प्रसाद साहको व्यक्तित्वलाई मूल्यांकन गर्दै मतदाताहरु उनीप्रति आकर्षित हुन थालेका छन् ।
जसपा नेपालका नेता शत्रुधन यादवले जनाए अनुसार कांग्रेस र रास्वपाका उम्मेदवार सित प्रतिस्पर्धा रहेको छ । ‘समय बाँकी छ, हामीले दुईलाई उछिन्नेर जित्ने निश्चित छ’ उनले भने, मधेशको अधिकारका लागि लड्दै आएको दललाई यसपटक मतदाताहरुले आशीर्वाद दिने निश्चित छ ।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार ई.सञ्जय कुमार महतोले आफ्नो पार्टीको मतलाई सुरक्षित राख्नका लागि जोडतोडका साथ लागेका छन् । ‘क’को भन्दा ‘ख’ मा नेकपाको समर्थकहरु बढी रहेको बताइन्छ । कांग्रेसको गढ र यादव जातिको बाहुल्यता रहेको क्षेत्र भए पनि गत निर्वाचनहरुमा आफ्नै पार्टीका नेताहरुको असन्तुष्टिले गर्दा यादव पराजित हुँदै आएका थिए । तर यस पटक अवस्था फेरिएको छ ।
विगतका ती असन्तुष्टि अन्त्य गर्न नेता यादवले पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा चन्दमोहन यादवलाई समानुपातिकतर्फ मधेशी कोटाबाट एक नम्बरमै नाम राख्न लगाएका छन् । तीन पटक चुनाव जितेका एमाले उम्मेदवार महासेठपनि कमजोर छैनन् । अन्तिम समयमा मतदातालाई प्रभावित पार्न सक्ने अपार लक्ष्मीको शक्ति छ ।
तर उनीप्रति मतदाताहरुको आकर्षण यस पटक देखिएको छैन । महासेठसित असन्तुष्ट मतदाताहरुले क्षेत्रमा ‘परिवर्तन’ को नारा दिएका छन् । विगत चुनावमा ढिला गरी उम्मेदवारको पक्षमा खुल्ने मतदाताहरु भने यस पटक बालेनको घण्टी बजाउन थालिसकेका छन् । त्यसले महासेठलाई सर्वाधिक क्षति पुयाउने बताइन्छ ।
एमालेका नेता महेश बस्नेतले मधेशी भनेर सामुदायिक रुपमा होच्याउने गरी दिएका अभिव्यक्ति र पार्टी अध्यक्ष केपी शर्मा ओलीले धनुषा महोत्तरीलाई फोहोर शहरको रुपमा दिएको अभिव्यक्ति, भदौ २३ र २४ गते जेन– जी घटनाले एमालेप्रति देखाएको वितृष्णाको प्रभाव र श्रीमान–श्रीमती दुबै उम्मेदवार हुने परिवारवादको आरोपसहितका दुर्बल पक्षले महासेठलाई चुनावी परिणाममा असर पार्ने व्यापक सम्भावना छ ।
धनुषा–४ मा बटेश्वर गाउँपालिका र लक्ष्मीनिया गाउँपालिका, मिथिला नगरपालिकाको ४ नम्बर बाहेक सबै वडा, क्षिरेश्वरनाथ नगरपालिकाका ८ र ९ बाहेक सबै वडा, मिथिला विहारी नगरपालिकाका १, ३, ४ र ५ बाहेक अन्य वडा तथा जनकपुरधाम उपमहानगरपालिकाका ९, १३, १४, १९, २१ र २२ वडा पर्छन् । सो क्षेत्रमा कुल ४२ वडा रहेका छन् । कांग्रेसका मतदाताहरु हल्लिएको छैन । उत्तरी भेगमा एमालेका मतदाताहरुले घण्टी बजाउन थालेका छन् । सौजन्य जनकपुर टुडे

