काठमाडौं, १८ माघ । बंगलादेशले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटभर शतप्रतिशत जित निकाल्दै च्याम्पियन बनेको छ । आइतबार विहान भएको सुपर सिक्सको खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । समूह चरणका चारवटै अनि सुपर सिक्समा ३ वटै खेल जित्दै बंगलादेश अपराजित रह्यो । नेदरल्यान्ड्सले दिएको १०३ रनको लक्ष्य बंगलादेशले २० बल बाँकी छँदै ३ विकेटको क्षतिमा पूरा गयो । त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो । दुवै टोली यसअघि नै विश्वकपमा छनोट भइसकेका थिए । आइतबार नै भएको अर्को खेलमा आयरल्यान्डले थाइल्यान्डलाई पराजित गरेको छ । योसँगै आयरल्यान्ड पनि विश्वकपका लागि छनोट भएको छ । आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ५९ रनमा अलआउट भयो । सुपर सिक्समा शून्य अंकबाट सुरुवात गरेको थाइल्यान्डले कुनैपनि खेल जित्न नसक्दा बाहिरिसकेको छ । अब स्कटल्यान्ड र अमेरिकामध्ये आज हुने खेलपछि विश्वकपमा छनोट हुने अर्को एक टोलीको टुंगो लाग्नेछ । अमेरिकाले केही ठूलो अन्तरको जित निकाल्नु पर्नेछ भने स्कटल्यान्डका लागि सामान्य जित पनि पर्याप्त हुनेछ । सौजन्य अनलाइनखबर

