Loktantra Khabar National Weekly
Ad

निपाह भाइरस फैलिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

लोकतन्त्र खबर
१९ माघ २०८२

भाारतको पश्चिम बंगालमा निपाह भाइरसको प्रकोपलाई लिएर मानिसहरुमा त्रास उत्पन्नको बेला नेपालमा पनि शंकास्पद घटना हुन थालेपछि सरकारले सतर्कता अपनाएको छ ।

निपाह भाइरस फैलिने भएपछि यसको परीक्षण गर्न निर्देशिका जारी गरी परीक्षण कार्यलाई अघि बढाउन सरकारले निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्बन्धित निकायहरुलाई निपाह भाइरस रोकथामका लागि निर्देशन दिएको छ । नयाँ प्रोटोकल अनुसार सम्भावित निपाह भाइरसका कारण मृत्यु हुने, गम्भीर तीव्र श्वासप्रश्वास सङ्क्रमण, तीव्र मस्तिष्क ज्वरो, कोमा, निपाह भाइरस लागेका बिरामीसंग सम्पर्कलगायत पर्छन् ।

निपाह भाइरस प्रभावित क्षेत्रबाट फर्किएका, काँचो खजुरको रस पिउने, संक्रमित जनावर (विशेषगरी चमेरो) संग सम्पर्कमा आएका मानिसहरुलाई शंकाको घेरामा राखिएको छ । महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीले भने, ‘ इन्फ्लुएन्जाजस्तै लक्षण देखिएका मानिसहरु, विशेषगरी भारतको पश्चिम बंगालबाट फर्केकासहित दर्जनौं व्यक्तिले परीक्षणका लागि हामीलाई सम्पर्क गरिरहेका छन्,’ उनले भने, ‘तर डराउनुपर्दैन ।

किनकि भारतीय स्वास्थ्य प्राधिकरण र विश्व स्वास्थ्य सङ्गठनले प्रकोप सफलतापूर्वक नियन्त्रणमा लिइएको जानकारी दिएको छ, र पश्चिम बंगालसँग सिमाना जोडिए पनि नेपालमा सङ्क्रमण फैलिने जोखिम उच्च छैन ।’ निपाह जनावरबाट मानिसमा सर्ने भाइरस हो । निपाह एक जुनोटिक भाइरस हो । तर २०१९ मा विश्वव्यापी महामारी उत्पन्न गराउने कोरोना भाइरसभन्दा निपाह भाइरस निकै प्राण घातक हो । भारतमा यस महिना पश्चिम बंगालमा निपाह भाइरस सङ्क्रमणका दुई जनामा पुष्टि भएको छ ।

दुबैजना संक्रमित स्वास्थ्यकर्मी हुन् । उनीहरुमा गत वर्ष डिसेम्बरको अन्तिम साता लक्षणहरू देखिएका थिए । सामान्यतया सङ्क्रमित जनावरसंग प्रत्यक्ष सम्पर्क वा त्यसको मासु खाँदा संक्रमण हुन्छ । त्यस्तै भारतसहित धेरै ठाउँमा मानिसबाट मानिसमा सङ्क्रमण फैलिएको तथ्यहरु फेला परेको छ । चिकित्सकहरुका अनुसार निपाह भाइरसको मुख्य वाहक चमेरो नेपालमा पनि पाइने भएकाले यहाँ प्रकोपको जोखिम रहेको छ । भने भारतको पश्चिम बंगाल र नेपालको कोशी प्रदेशको सीमा जोडिएको छ ।

सीमानाका जोडिएको हुँदा दैनिक सयौं व्यक्ति आवतजातव गर्ने गर्छन् । शंकास्पद निपाह भाइरसका बिरामीलाई विगतमा कोरोना उपचार केन्द्रका रुपमा तोकिएका अस्पतालहरुमा नै भर्ना र उपचार गर्न स्वास्थ्य अधिकारीहरुले निर्देशन दिएका छन् । यस्तै अन्य व्यक्तिसंग सम्पर्कमा नरहन पनि आग्रह गरिएको छ ।

अर्का एक जनस्वास्थ्य अधिकारीले भने, ‘ हामी उपचार निर्देशिका पनि तयार गरिरहेका छौं ।’ केही समय अघि मात्रै रोग नियन्त्रण महाशाखाले निपाह जस्तै लक्षण देखिएका बिरामी र एक्कासी मृत्यु भएका शंकास्पद घटनाबारे रिपोर्ट उपलब्ध गराउन देशभरका अस्पताललाई निर्देशन जारी गरेको थियो । पछिल्लो समय निपाह संक्रमण फैलिएका विरामीहरु आउन सक्ने सम्भावनाबारे सीमानाकाहरू र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका स्वास्थ्य डेस्कहरूलाई सचेत गराइएको छ ।

त्यस्तै स्वास्थ्यकर्मीहरूलाई सतर्क रहन भनिएको छ । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार निपाह भाइरस सङ्क्रमित व्यक्तिमा सामान्यतया ३ देखि १४ दिनभित्र लक्षणहरू देखिन्छन् । ज्वरो, टाउको दुखाइ, खोकी, घाँटी दुख्ने, र श्वासप्रश्वासमा कठिनाइ यसका प्रमुख लक्षण छन् । केही व्यक्तिमा मस्तिष्क सुन्निने वा मस्तिष्क ज्वरो हुन सक्छ । भ्रम, निद्रा लाग्ने र बेहोस हुनेजस्ता गम्भीर लक्षण पनि देखिन सक्छन् । केही बिरामी २४ देखि ४८ घण्टाभित्र कोमामा पुग्ने सम्भावना पनि हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनले जनाए अनुसार यस रोगको मृत्युदर ४० देखि ७० प्रतिशत हुने गरेको छ । निपाह भाइरस सन् १९९९ मा पहिलोपटक मलेसिया र सिंगापुरमा फेला परेको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाए अनुसार त्यतिबेला करिब ३०० जनामा रोग पुष्टि भएको थियो भने १०० भन्दा बढीको मृत्यु भएको थियो ।

भारतको पश्चिम बंगालमा सन् २००१ मा निपाह भाइरसको सबैभन्दा घातक प्रकोप फैलिएको थियो । जसमा ६६ सङ्क्रमित भए र ४५ को मृत्यु भएको थियो । सन् २००७ मा फेरि निपाह भाइरस देखा परेको थियो । त्यसपटक भने ५ जना मध्ये सबै संक्रमितको मृत्यु भएको थियो । सन् २०१८ मा भारतको केरलामा निपाह भाइरसले १७ जनाको मृत्यु भएको थियो ।

विशेषज्ञहरूले निपाह भाइरसलाई गम्भीरतापूर्वक लिइनुपर्ने बताएका छन् । यस निपाह भाइरसले हुने मृत्युदर ७० प्रतिशतसम्म रहेको जनाइएको छ । निपाह भाइरसका कतिपय लक्षणहरु अन्य सामान्य भइरसहरुसंग मिल्दोजुल्दो छ । यसकारणले पनि मानिसहरु भ्रममा पर्ने खतरा रहेको चिकित्सकहरु बताउँछन् ।

अहिलेसम्म पनि निपाह भाइरसको कुनै उपचार पत्ता लाग्न सकेको छैन । एक नेपाली विशेषज्ञका अनुसार निपाह भाइरस चमेरोमार्फत नेपालमा फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरे । उनले पछिल्लो खतराको घन्टी हालै मात्र बजेको बताए । भारतको कोलकाता नजिकैको अस्पतालका स्वास्थ्यकर्मी नै निपाह भाइरस संक्रमित भएर सिकिस्त भएपछि उनीहरूलाई आइसियूमा राखेर उपचार थालिएको छ । त्यहाँका अधिकारीहरूले उनीहरूको सम्पर्कमा आएका करिब २ सय जनाको परीक्षण गरेर निगरानीमा राखेका छन् । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: