Loktantra Khabar National Weekly
Ad

एआईको सहयोगमा स्तन क्यान्सरको पहिचान

लोकतन्त्र खबर
१८ माघ २०८२

डाक्टरहरूले कृत्रिम बौद्धिकता (एआई)को सहयोगमा स्तन क्यान्सरका धेरै बिरामी पत्ता लगाउन सकिरहेका छन् । यो कुरा विश्वकै पहिलो ठुलो परीक्षणमा खुलासा भएको हो । यस अध्ययनको नतिजाले अब देशहरूले स्क्यानिङमा एआईको क्षमताहरू प्रयोग गर्ने कार्यक्रमहरू सुरु गर्नुपर्छ भन्ने सुझाव दिएको अग्रणी स्वीडिश अनुसन्धानकर्ताहरूले भनेका छन् । रेडियोलोजीको क्षेत्रमा पहिला देखि नै कर्मचारीको अभाव छ । क्यान्सरको पहिचानमा एआईको प्रयोगले रेडियोलोजिस्टहरूमाथि पर्ने कामको भार कम गर्न सक्ने आशा गरिएको छ ।

२०२२ मा च्याटजीपीटीको सुरुवात हुनुभन्दा धेरै अघि नै वैज्ञानिकहरूले मेडिकल स्क्यानहरू पढ्न एआईको सम्भावनाको परीक्षण गरिरहेका थिए । यो अध्ययनको नतिजा मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित भएको छ । नयाँ अध्ययन आफ्नो प्रकारको पहिलो पूर्ण अनियमित नियन्त्रित परीक्षण भएको बताइएको छ । यसलाई अनुसन्धानको सबैभन्दा भरपर्दाे विधि मानिएको छ । यस परीक्षणमा २०२१ र २०२२ को बिच नियमित स्तन क्यान्सर स्क्यानहरू गरिएका १ लाखभन्दा बढी स्विडेनी महिलाहरू समावेश थिए ।

अध्ययनमा महिलाहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । पहिलो समूहमा, एआई प्रणालीको सहयोगमा रेडियोलोजिस्टद्वारा स्क्यानहरू हेरिएको थियो । दोस्रो समूहले परम्परागत युरोपेली विधि प्रयोग गरेको थियो । जसमा दुई रेडियोलोजिस्टहरूले एकसाथ स्क्यानहरूको समीक्षा गरेका थिए । अध्ययनको नतिजाहरू आश्चर्यजनक थिए । एआईको सहायतामा भएको स्क्यानको विश्लेषणमा स्तन क्यान्सरका ९५ बढी बिरामी फेला परेका थिए ।

अर्को दुई वर्षमा एआई प्रयोग गरिएको समूहका महिलाहरूमा पनि नियमित जाँचको क्रममा क्यान्सरको दर १२ प्रतिशत कम देखियो । यी केसहरूलाई बिरामीलाई ‘इन्टरभल क्यान्सर’ भनिन्छ । यो झन् बढी खतरनाक हुन सक्छ । यो सुधार सबै उमेरका र फरक–फरक स्तन घनत्व भएका महिलाहरूमा देखिएको थियो । यद्यपि, दुवै समूहहरूमा ‘फल्स पोजिटिभिटी’को दर लगभग समान रह्यो ।

एआईको सहायता प्राप्त म्यामोग्राफी बृहत स्तरमा अपनाउनाले रेडियोलोजिस्टहरूको कामलाई सजिलो बनाउन सक्ने र प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाउन सक्ने अध्ययनकी वरिष्ठ लेखक र स्वीडेनको लुन्ड विश्वविद्यालयकी प्राध्यापक क्रिस्टिना लाङले बताइन् । यद्यपि, उनले सावधानी र निरन्तर निगरानीको आवश्यकतामा पनि जोड दिइन् । एआईको प्रयोगको साथसाथै डाक्टरको अनुभव पनि आवश्यक रहेको रेडियोलोजिस्टहरूको फ्रान्सेली संघका प्रमुख जीन–फिलिप म्यासनले भने । कहिलेकाहीं एआईले क्यान्सर नभएको बदलावलाई समेत क्यान्सर सम्झने गल्ती गर्दछ ।

यस अध्ययनले एआईको सहायता प्राप्त क्यान्सर स्क्रिनिङ सुरक्षित छ भनेर देखाएको लन्डनको क्वीन मेरी विश्वविद्यालयका प्राध्यापक स्टीफन डफीले भनेका छन् । तर इन्टरभल क्यान्सरमा आएको कमी अझै पनि निर्णायक नभएको र थप फलोअप आवश्यक रहेको उनको भनाइ छ । २०२३ मा केही परीक्षणका प्रारम्भिक नतिजाहरूले पनि एआईले रेडियोलोजिस्टहरूको स्क्यान समय लगभग आधा घटाएको देखाएको थियो ।

यस परीक्षणमा प्रयोग गरिएको एआई मोडेल ट्रान्सपारालाई १० देशहरूबाट प्राप्त २ लाख बढी क्यान्सर स्क्यानबाट प्रशिक्षित गरिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, २०२२ मा विश्वभर २३ लाख भन्दा बढी महिलाहरूलाई स्तन क्यान्सर भएको छ । लगभग ६ लाख ७० हजार महिलाको मृत्यु यस रोगका कारण भएको थियो । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: