आसन्न प्रतिनिधि सभाका लागि सर्लाही क्षेत्र नम्बर ३ मा पनि देशका अन्य निर्वाचन क्षेत्र जस्तै चुनावी मैदानमा उत्रेका छन । उम्मेदवारहरु आ आफ्ना एजेण्डा र नारासहित प्रचारप्रसारमा जुटेका छन् ।
दलहरु कार्यकर्ता संगठित गर्न व्यस्त छन भने उम्मेदवारहरु प्रचार प्रसारमा लागेका छन् । तर मतदाताहरुमा खासै चुनाव लागेको देखिदैन । उनीहरु आ आफ्ना काममा व्यस्त देखिएका छन् । चिनी उद्योगका लागि उखु उत्पादनको प्रमुख क्षेत्र मध्ये सर्लाही ३ पनि हो । अधिकांश मतदाता किसान नै हुन र उनीहरुलाई उखु काटेर मिलसम्म पुरयाउने अहिले चटारो छ ।
बयलगाडामा उखु लग्दै गरेका सलेमपुरका किसान रामनरेश रायले कतिको चुनाव लागेको छ भन्ने प्रश्नमा उनले भने ‘आफूहरुलाई चुनावसँग के मतलब, चुनाव आएपनि खेती गरेर नै खाने हो, नआएपनि खेती नै गर्ने हो, चुनाव त नेताहरुका लागि हुन्छ ।’ त्यस्तै अर्का किसान दिलिप रायले भने ‘चुनावको खासै माहौल देखिदैन, गाडीहरु त गाउँमा कुदिरहेको हेर्छु तर अहिलेसम्म कुनैपनि पार्टीका नेताहरु आफूहरु कहाँ आएको छैन । चुनाव भएपनि के हुने समस्या त ज्यौंका त्यौं नै रहनेछ वर्षौदेखि यही देख्दै आएका छौं ।’ चुनावी माहोल बनाइरहेका उम्मेदवारहरु आ आफ्ना एजेण्डा मतदाताहरुसँग समक्ष राख्ने भनेर कार्यकर्ताहरुलाई भेटघाट गर्दै प्रशिक्षित गर्दैछन ।
सर्लाही ३ मा नेकपा एमालेका निर्वतमान सांसद हरि उप्रेती, कांग्रेसका विनोद खनाल, जसपाका जयप्रकाश राय, रास्वपाका नरेन्द्र साह, जनमतका सुनिलप्रसाद गुप्ता लगायत ३३ जना चुनावी मैदानमा छन् । श्रेष्ठले तराई मधेसमा वर्षौंदेखि व्याप्त रहेका मिटरब्याजको समस्या आफूले धेरै हदसम्म समाधान गर्न सफल भएको दाबीसहितका एजेण्डा बनाएका छन् ।
आफूले चुनाव जिते बाँकी रहेका समस्या समाधान गर्ने र सहुलियतपूर्ण ब्याज दरमा ऋण पाउने वित्तीय संस्था गाउँगाउँ स्थापना गर्ने प्रतिबद्धता समेत जनाउंछन् । यस्तै एमालेका उप्रेतीले आफू निर्वाचित भएदेखि यहाँका जनताका लागि धेरै नै काम गरेको दाबी गर्दै अब निर्वाचित भए बांकी रहेका किसानको खेती समस्या र उखु भुक्तानी समस्या समाधानका साथै सहुलियत ऋणको व्यवस्थापन गर्ने चुनावी एजेण्डा बनाएका छन भने रास्वपाका साहले पटक पटक माओवादी र एमाले जितेपनि केही गर्न नसकेपछि अब परिवर्तनका लागि रास्वपालाई एक पटक मौका दिन भनी मत मागिरहेका छ्न ।
२०७९ मा सर्लाही ३ मा माओवादीबाट उम्मेदवार बनेका नरेन्द्र साह यस पटक रास्वपाबाट उम्मेदवार बनेपछि उनको टाउको दुखाई बन्न सक्ने सम्भावना बढी छ । मधेसी समुदायका बालेन शाहलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएको सेन्टीमेंट र २०७४ सालमा १२ हजारभन्दा बढी मत ल्याएको अवस्थाले साहको अवस्था पनि मजबूत नै देखिन्छ । एमाले उम्मेदवार हरि उप्रेती पनि निवर्तमान सांसद र पहाडी मतदातामा पकड भएका कारण प्रतिस्पर्धामै छन् ।
कांग्रेस र एमालेबाट पनि पहाडी समुदायकै व्यक्ति उम्मेदवार बन्नु र यसअघिको माओवादीका उम्मेदवार रास्वपाबाट श्रेष्ठको प्रतिद्वन्द्वी बनेपछि सर्लाही ३ को चुनाव प्रतिस्पर्धा रोचक बनेको छ । १ लाख ३४ हजार ४ सय १६ मतदाता रहेकोमा करिब ६०—७० प्रतिशत पहाडी मूलका छन् । सर्लाही ३ मा २०७९ को निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेती ३२ हजार ९३८ मत ल्याई विजयी भएका थिए भने तत्कालीन माओवादी केन्द्र र हालका रास्वपा उम्मेदवार नरेन्द्र साहले ३२ हजार १६८ मत ल्याएर दोस्रो भएका थिए ।
यता कांग्रेस उम्मेदवार विनोद खनाल पनि चुनाव जित्नेमा आफू ढुक्क रहेको बताउँछन् । सर्लाही ४ मा सभापति गगन थापा उम्मेदवार बनेकाले ३ नम्बरमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने उनको बुझाइ छ । सभापति थापा मधेस झरेपछि कांग्रेसको पक्षमा जबर्जस्त माहोल बनेको भन्दै सर्लाहीका चारै जना उम्मेदवार विजयी हुने खनाल ढुक्क छन । सर्लाही ३ मा हरिवन, बागमती, चक्रघट्टा, हरिपुर, बरहथवा, कविलासी नगरपालिका साथै बसबरिया गाउँपालिका रहेका छन् ।
हरिवन, बागमती, चक्रघट्टाका सबै वडाहरू यो निर्वाचन क्षेत्रमा पर्दा हरिपुरको १ नम्बर वडा मात्र पर्छ। बरथहवाको ५ देखि १२ र १६ देखि १८ गरी ११ वटा वडा यही क्षेत्रमा पर्छन् । कविलासी नगरपालिकाका ३ देखि ६, बसबरियाका ४ देखि ६ नम्बर पनि सर्लाही ३ मा पर्छन् । सर्लाही ३ का ५१ मध्ये कांग्रेस र माओवादीले १५–१५, एमाले र जसपाले ९–९, एकीकृत समाजवादीले २ र बहुजन पार्टीले एउटा वडा जितेका थिए । त्यस्तै नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको पनि यहाँ धेरथोर प्रभाव थियो ।
२०७९ मा समानुपातिकतर्फ माओवादीले १५ हजार ४ सय ७१, एमालेले १५ हजार ६, जसपाले १२ हजार ७९, कांग्रेसले ९ हजार ९ सय ७९, रास्वपाले ६ हजार ९ सय ६२, जनमतको ६ हजार १ सय ३१, तत्कालीन एकीकृत समाजवादीले २ हजार ६ सय ५५ मत ल्याएका थिए । सौजन्य जनकपुर टुडे

